काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेको थियो ।
साउनमा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँको आयात भएकोमा यस वर्ष आयात ३१.०४ प्रतिशतले बढेको हो ।
यस्तै, साउनमा नेपालको वस्तु निर्यात ६१.७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा निर्यात बढेर ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
निर्यातको वृद्धिदर आयातको तुलनामा निकै उच्च भए पनि कुल निर्यात अझै आयातको तुलनामा निकै कम रहेको छ । जसका कारण साउनमा नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा २४.८८ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यद्यपि, कुल वैदेशिक व्यापारमा नेपालको निर्यात हिस्सा भने बढेको छ । गत आर्थिक वर्षको साउनमा कुल व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा बढेर १७.११ प्रतिशत पुगेको छ ।
यसले साउनमा आयातसँगै निर्यातमा समेत उल्लेख्य सुधार भएको देखाए पनि नेपालको वैदेशिक व्यापार अझै ठूलो व्यापार घाटामा निर्भर रहेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया