नयाँ राजनीतिक ‘एड्भेन्चर’ नेपालले थेग्न सक्दैन : गगन थापा

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताबाट पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट पाएकाले उसलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने बताएका हुन् ।

उनले पाँच वर्षपछि कांग्रेसले सरकार सञ्चालन गर्ने गरी आफूहरूले तयारी गरिरहेको बताए ।

‘नयाँ पोलिटिकल एड्भेन्चर’ नगर्न आग्रह गर्दै थापाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भएर आएको छ, पाँच वर्ष उहाँहरूले नेतृत्व गर्नुहुनेछ । पाँच वर्षपछि चुनाव हुन्छ । हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरी तयारी गरिरहेका हुन्छौँ ।’

उनले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिकेर आफूलाई सुधार गर्दै अघि बढ्ने बताए । नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेका गल्ती र भोगेका संकट नदोहोर्‍याउन उनले सुझाव दिए ।

थापाले सरकारलाई संख्या नै ठूलो हो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाइ थियो ।

दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए । लोकतन्त्रमा नैतिक नेतृत्व महत्वपूर्ण हुने भन्दै थापाले सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने बताए ।

उनले नयाँ राजनीतिक शक्तिलाई पनि विगतका दलले भोगेको अवस्था नदोहोर्‍याउन आग्रह गरे । ‘हामीले भोगेको कुरा तपाईंहरूले किन फेरि भोग्नुहुन्छ ? तपाईंहरू त नभोग्नुस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?