खगेन्द्र सुनारको आरोप– ‘विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका छन् ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको खरिद प्रक्रियासम्बन्धी कागजात समितिले माग गरे पनि प्राप्त भए–नभएकोबारे जानकारी गराउन सभापतिलाई आग्रह गरे ।

समितिको यसअघिको बैठकले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, उक्त समय बितिसक्दा पनि कागजात प्राप्त भए–नभएकोबारे उनले प्रश्न उठाएका हुन् ।

सुनारले प्रहरीले पछिल्लो समय पनि करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि थप प्रश्न उठाए । उनले भने, ‘निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् ।’

यसअघि समितिको बैठकमा आफूले उठाएका प्रश्नमा आफू अडिग रहेको बताउँदै सुनारले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए कानुनी प्रक्रियामा जान चुनौती दिए ।

‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु । कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा म उभिएर जवाफ दिनलाई तयार छु ।’

उनले समितिमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाए । कुनै विषय नियमावलीविपरीत भए सभापतिले तत्काल रुलिङ गर्नुपर्ने भन्दै एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने उनको भनाइ थियो ।

जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार राख्ने सुनारले बताए । भ्रष्टाचारको गहिराइमा पुग्न सामान्य ढंगले प्रश्न गरेर सम्भव नहुने भन्दै उनले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए ।

‘पहिलेको शैलीमा प्रश्न हुँदैन । प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तल्लैबाट हुन्छ,’ उनले भने ।

समितिमा रहँदासम्म भ्रष्टाचार तथा सरकारी खरिद प्रक्रियासँग सम्बन्धित विषयमा आफूले कडा प्रश्न उठाइरहने उनले बताए । आफ्नो शैली अमर्यादित लागेको भए सभापतिले समितिबाट हटाउन सक्ने भन्दै उनले त्यसका लागि आफू तयार रहेको समेत बताए ।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो । बिहीबारको बैठकमा सुनारले सोही विषयमा आफ्नो धारणा स्पष्ट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?