प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

लोकपथ
7
Shares

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विभिन्न चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, मन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?