बालेन सरकारको कामप्रति शशांक कोइरालाको असन्तुष्टि, भने –‘कामचलाउ सरकार’

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वर्तमान सरकारले ठोस तथा जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सरकारले समर्थन प्राप्त गरे पनि हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको भनाइ छ । उनले वर्तमान सरकारलाई एक प्रकारको ‘कामचलाउ’ सरकारको संज्ञासमेत दिए ।

कोइरालाले वर्तमान सत्ता समीकरण पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा समेत आशंका व्यक्त गरे । राजनीतिक परिस्थितिमा परिवर्तन आउन सक्ने भन्दै उनले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेको बताए ।

‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ । बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ,’ कोइरालाले भने ।

उनले यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता नरहेको उल्लेख गर्दै बीचमै मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

‘यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन,’ उनले भने ।

राजनीति सम्भावनाको खेल भएको उल्लेख गर्दै कोइरालाले आगामी राजनीतिक घटनाक्रमबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?