देउवाको खुलासा- ‘गणतन्त्र ल्याउनुमा ज्ञानेन्द्रको ठूलो हात छ’

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजाकै कारण मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको दाबी गरेका छन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् ।

उनले गणतन्त्र आउनुमा आफ्नो भन्दा नेपाली जनताको ठूलो हात रहेको बताए । आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई संवैधानिक स्थानमा बस्न आग्रह गरेको तर आफूलाई त्यही निहुँमा जेल हालिएको स्मरण गरे ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र मास्न खोजेपछि गणतन्त्रको बाटो खनिएको देउवाको भनाइ रहेको छ ।

‘अहिले जो गणतन्त्र आएको छ, नेपाली जनताको त्यागबाट गणतन्त्र आएको हो । वास्तवमा भन्ने हो भने गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ । बेलायतमा संवैधानिक राजतन्त्र छ । उल्टो त्यसैगरी बस भन्दाखेरी मलाई जेल हालिदियो,’ उनले भने ।

त्यस्तै उनले आफूले ज्ञानेन्द्रसँग प्रजातन्त्रको खिलापमा जान नसक्ने स्पष्ट पारेका कारण जेल हालिएको बताए । ज्ञानेन्द्रले शाही आयोग बनाएर जेल हाले पनि न्यायालयले न्याय दिएको बताउँदै अहिले पनि कांग्रेस विवादमा न्यायलयबाट आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताए ।

‘मैले ज्ञानेन्द्रलाई भनेकै हो, सरकारबाट जे हुकुम हुन्छ म मान्न तयार छु तर प्रजातन्त्रको खिलापमा म कुनै हालतमा सहमत छैन । प्रजातन्त्रको खिलापमा कुनै हालतमा कसैलाई मान्दिन मैले, त्यसकारण प्रजातन्त्रको खिलापमा सरकारसँग कुनै सम्झौता गर्न सक्दिन भनेकै हो । त्यसपछि राजाले मलाई शाही आयोग गठन गरेर जेल हाले । मलाई न्यायालयले नै न्याय दिएको हो,’ उनले भने ।

यसैगरी उनले पार्टीभित्र देखिएको विवाद सहमतिको माध्यमबाट समाधान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?