काठमाडौं । नेपाल आयल निगमले साउन ३० गते शनिबार (भोलि) काठमाडौंका विभिन्न स्थानमा ग्यास वितरण गर्ने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा निगमले खाना पकाउने एलपी ग्यासको अभाव देखिएका उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउन लागेको हो ।
निगमका अनुसार निगमको टेकु परिसर, यातायात कार्यालय परिसर, चाबहिल, राधास्वामी, कीर्तिपुर परिसर, राधास्वामी, बसुन्धरा परिसर तथा पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट ग्यास बिक्री गरिनेछ।
तोकिएका बिक्री केन्द्रमा विभिन्न कम्पनीका ग्यास उपलब्ध हुनेछन् । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी, कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट–सुगम, श्रीमाया, श्रीकृष्ण, साइडवाका र ओम, तथा बसुन्धराको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ ।
निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ भने बिक्री वितरण पनि सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित गरिरहेका छन् । अत्यावश्यक परेका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने निगमले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया