काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन गर्न गठित उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गरिनेछ ।
यसैगरी, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ । साथै, कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीबारे पनि जानकारी लिइनेछ ।
सोही बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।
यसरी आजका संसदीय समितिका बैठकमा वित्तीय संघीयता, मानव अधिकार, सामाजिक संस्था, विधि विज्ञान, गृह मन्त्रालयसम्बन्धी उजुरी तथा जलवायु परिवर्तनलगायत समसामयिक विषयमा छलफल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया