नेकपा सांसद शर्माले प्रधानमन्त्री बालेनलाई भने- ‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्’

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित हुन आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने राजनीतिक दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे ।

उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिसँग संवाद गर्दा सरकार अझ सुरक्षित र सुदृढ हुने बताए । प्रधानमन्त्रीलाई निर्वाचित गराउन सहयोग गर्ने दलका कार्यालयमा समेत जान छोडेको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे ।

प्रधानमन्त्री संसद् र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने अभिव्यक्ति दिनुपर्ने अवस्था आएको शर्माको भनाइ थियो ।

शर्माले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, गुप्तवासमा नबस्नुहोस् । तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसद्मा आउँदा सांसद र सिंगो संसद् तपाईंको साथमा हुन्छ ।’

उनले प्रधानमन्त्रीले सकारात्मक पहल गरे संसद्ले साथ दिने तर गलत प्रक्रिया अपनाए संसद् नै विपक्षमा उभिन सक्ने बताए । संसद् र राजनीतिक दलसँग निरन्तर संवाद र सहकार्य गरेर मात्रै सरकार सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

सांसद शर्माले प्रधानमन्त्रीका पछिल्ला केही अभिव्यक्ति विवादास्पद रहेको भन्दै सभामुखको ध्यानाकर्षणसमेत गराए । उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई विवादास्पद अभिव्यक्ति सच्याउन र आवश्यक परे ती अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन रुलिङ गर्न सभामुखसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?