आजदेखि भृकुटीमण्डपमा नाइमा एक्स्पो : ५५ भन्दा बढी ब्रान्ड, ४० नयाँ मोडल सार्वजनिक हुँदै

लोकपथ
14
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । एक्स्पोमा करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च गरिने नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिइन् ।

गत वर्षको पहिलो संस्करणमा ४२ वटा ब्रान्ड सहभागी भएकोमा यस वर्ष सहभागी ब्रान्डको संख्या बढेर ५५ भन्दा बढी पुगेको हो ।

एक्स्पोको मुख्य आकर्षण विद्युतीय सवारीसाधन (ईभी) रहनेछ । विभिन्न कम्पनीका विद्युतीय कार, मोटरसाइकल, स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधन प्रदर्शनीमा राखिनेछन् । साथै, ब्याट्री, चार्जिङ स्टेसन, पार्टपुर्जा, एक्सेसरिज तथा अन्य मोबिलिटीसम्बन्धी प्रविधिसमेत प्रदर्शन गरिनेछ ।

बैंक तथा बीमा कम्पनीको सहभागिता रहेकाले आगन्तुकले सवारीसाधन खरिदका लागि आवश्यक कर्जा तथा बीमासम्बन्धी जानकारीसमेत एकै स्थानबाट लिन सक्नेछन् । एक्स्पोमा सवारीसाधन बुकिङ गर्ने ग्राहकलाई विभिन्न कम्पनीले छुट तथा विशेष अफर दिने तयारी गरेका छन् ।

आगन्तुकको सहजताका लागि भृकुटीमण्डप परिसरका साथै नेपाल पुलिस क्लबको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइनेछ । डिजिटल टिकट खरिद गर्ने आगन्तुकले अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको छ ।

एक्स्पोमा फुड कोर्ट तथा बेभरेजको समेत व्यवस्था गरिएको छ । एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?