६ महिनाभित्र आर्थिक सुधारको ठोस ‘एक्सन प्लान’ बनाउने अर्थमन्त्री वाग्लेको घोषणा

लोकपथ
14
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताए ।

उनले आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको प्रयासबाट मात्र सम्भव नहुने भन्दै ‘होल अफ द नेशन’ अर्थात् एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको बताए । सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेरेको उनको भनाइ छ ।

उद्योगले कमाएको नाफाबाट पुनरलगानी बढ्ने, त्यसबाट रोजगारी र आम्दानी सिर्जना हुने तथा अन्ततः राज्यको राजस्वमा समेत योगदान पुग्ने भन्दै वाग्लेले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको बताए ।

वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ प्रविधि भित्र्याउन र रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरे ।

चालु आर्थिक वर्षको बजेटले सरकारको प्राथमिकता केवल कर सङ्कलनमा सीमित नरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको बताए ।

उनले लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार तथा कानुनी प्रक्रियामा रहेका समस्याबारे व्यवसायीहरूबाट प्रत्यक्ष अनुभव र सुझाव लिइएको थियो ।

अर्थमन्त्री वाग्लेले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधार पहिचान गरी त्यसको ठोस कार्यसूची (एक्सन प्लान) बनाएर कार्यान्वयनमा लैजाने जानकारी दिए ।

कार्यक्रममा सहभागी उद्यमीहरूले लगानीका अवरोध तथा नीतिगत सुधारका विषयमा सुझाव दिएका थिए । प्राप्त सुझावलाई सम्बोधन गर्दै व्यवसायीको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?