स्कुलपछि सशस्त्रको बलम्बुस्थित अस्पतालको बदमासी पनि छताछुल्ल, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा ‘बदमासी’ देखिएपछि सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरी छानबिन थालेको छ । सशस्त्र मुख्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा गठन गरेको छानबिन समितिले हरेक दिनजसो एपीएफ अस्पताल गई सोधपुछ गर्ने कामलाई तीव्रता दिएको छ । 

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको करोडौँको आर्थिक अपचलनले झस्किएको सशस्त्र प्रहरी नेतृत्वले अस्पतालमा भएको बदमासीलाई लिएर परेको उजुरीलाई गम्भीर ढंगले लिँदै तत्कालै छानबिन समिति गठन गरेको बुझिएको छ । 

स्रोतका अनुसार, अस्पतालमा भएको बदमासीमा अस्पताल प्रमुख डीआईजी डा. रूपक महर्जन, लेखा शाखा प्रमुख गणेशबहादुर मल्ललगायत जोडिएका छन् । 

लामो समयदेखि अस्पतालको नेतृत्वमा रहेका डा. महर्जनमाथि अस्पतालमा भएको बदमासी समयमै रोक्न पहल नगरेको पनि आरोप छ । गत चैत पहिलो साता मात्र डीआईजीको एक वर्ष कार्यकाल थप भएका महर्जनमाथि अस्पतालमा भएको बदमासी निकै महँगो साबित हुनसक्ने जनाइएको छ । अस्पतालमा एआईजीको दरबन्दी नआए आगामी चैत ५ गते उनी डीआईजीबाटै अनिवार्य अवकाशमा जानेछन् । 

स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले कुनै पनि प्रभावमा नपरी अस्पतालको वास्तविकता पत्ता लगाउन समितिलाई निर्देशन दिएका छन् । गुनासो आइसकेपछि त्यसको जरो पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने र सुधारको व्यापक पहल गर्ने आईजीपी पौडेलको नीति रहेको छ ।

स्रोतका अनुसार, अस्पतालमा भर्ना भएका बिरामीको रासनमा व्यापक बदमासी भएको उजुरी सशस्त्र मुख्यालयमा परेको छ । यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्र सञ्चालित स–शुल्क फार्मेसीले औषधिमा दिनुपर्ने छुट नदिएको, बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीका लागि दैनिक उपभोग्य सामान सुलभ मूल्यमा उपलब्ध गराउनका लागि सञ्चालन गरिएको सुपथ मूल्य पसलमा व्यापक कैफियत रहेको, यसैगरी पूर्व सशस्त्र प्रहरीका एसपीले सञ्चालन गर्दै आएको क्यान्टिनका खानेकुरा अत्यन्तै महँगो भएको उजुरी पनि सशस्त्र प्रहरी मुख्यालयमा परेको छ । 

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँग २०८० साल कात्तिक २४ गते नेपाल एपीएफ अस्पताल र नाम्सबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालनको लागि सम्झौता भएकोमा विज्ञापनबिना नै आफ्ना निकटलाई नर्समा करार नियुक्ति दिएको विषयमा पनि उजुरी परेको जनाइएको छ । यो वर्षदेखि नर्सिङ कक्षा सञ्चालन भइसकेको छ ।

सशस्त्र प्रहरीको सो अस्पताल केही वर्षदेखि तीन सय शय्यामा विस्तार भएको छ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वकर्मचारी तथा उनीहरूका परिवार र सर्वसाधारण नागरिकहरूको सेवा सुविधाको लागि एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको हो । तर, हरेक दिन ३ सय बिरामी भर्ना नभएपनि ३ सय शय्याबराबरको रासनको रकम असुल्ने काम भएको भन्दै उजुरी परेको जनाइएको छ । 

यस्तै बिरामीको स्वास्थ्य अवस्थाअनुसार खाना खुवाउनुपर्ने भएपनि सबैलाई एउटै प्रकारको खाना खुवाउने गरिएको छ । जस्तै, सुगरका बिरामी, अप्रेसन गरेका बिरामीलाई फरक फरक खाना खुवाउनुपर्नेमा एउटै प्रकारको खाना खुवाउने गरिएको छ । स्रोतका अनुसार, ७ प्रकारको खाना खुवाउनुपर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनलाई दिइएको छ । 

सो अस्पतालमा रासनको जिम्मेवारी प्राविधिक एसएसपी डा. मिना कुँवर, क्वाटर मास्टरले हेर्दै आएका छन् । 

लोकपथसँगको कुराकानीमा एसएसपी डा. कुँवरले आफू बिरामीको स्वास्थ्य जाँचमा रहेकाले फ्री भएपछि कुरा गर्ने बताइन् । उनले भनिन्, ‘म अहिले बिरामीको स्वास्थ्य जाँच गर्दै छु । यस्तो स्थितिमा मैले तपाईंको जिज्ञासाको जवाफ दिन असमर्थ भएँ । पछि तपाईंसँग कुरा गर्नेछु ।’

बलम्बुस्थित एपीएफ अस्पतालमा बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीका लागि दैनिक उपभोग्य सामान सुलभ मूल्यमा उपलब्ध गराउनका लागि सञ्चालन गरिएको सुपथ मूल्य पसलका सामान अत्यन्तै महँगो रहेको जनाइएको छ । सुपथ मूल्य पसल अस्पताल स्वयंले सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल अस्पतालको गेटमै रहेको छ । 

यस्तै, अस्पतालको उत्तरी क्षेत्रमा रहेको क्यान्टिनको सञ्चालन सीतापाइला निवासी पूर्वएसपी राजु पाण्डेले सञ्चालन गर्दै आएका छन् । सो क्यान्टिनको मेनु अत्यन्तै महँगो रहेको जनाइएको छ ।

लोकपथको जिज्ञासाको एकमुष्ट जवाफ दिँदै अस्पतालका प्रमुख डीआईजी डा. रूपक महर्जनले भने, ‘उजुरी परेको विषयमा मलाई जानकारी छ । छानबिन समितिले आएर छानबिन गरिरहनुभएको पनि छ, त्यसमा हाम्रो सहयोग रहन्छ ।  अहिले उजुरी दिन सजिलो छ । उजुरी दिनेलाई पनि सबै कुरा थाहा हुँदैन । कसैले कुनै विषयमा उजुरी दिएपछि हेडक्वार्टरले छानबिन गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । अस्पतालको रासनको विषयमा हाम्रो एसएसपी सापको कमान्डमा काम हुन्छ । हाम्रोमा बिरामीहरूलाई दिइने रासन मात्र आउने हो, त्यसमा जति जना बिरामीहरू हुनुहुन्छ सोही अनुसार रासन खपत हुने हो नि !  औषधि र फार्मेसीको विषयमा त्यस्तो केही भएजस्तो लाग्दैन । तैपनि नेतृत्वमा रहेको हिसाबले मैले जिम्मेवारी लिनुपर्ने एउटा पाटो त छँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?