काठमाडौं । सरकारले आत्मदाहबाट मृत्युबरण गरेका गणेश नेपालीको घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहहेका छन् । बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ ।
नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि सरकार तथा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो ।
सहमतिको पहिलो बुँदामा भनिएको थियो, ‘यस घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समतिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ ।’
त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत असार २५ गते मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका थिए । उनको असार २६ गते उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएको र काममा बाधा पुर्याएको भन्दै आत्मदाह प्रयास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया