‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु’ भन्दै देउवाको भावुक सन्देश [पूर्णपाठ]

लोकपथ
483
Shares

काठमाडौं । गत फागुन २१ को निर्वाचनको छेको पारेर सिंगापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्किने बताएका छन् ।

वीपी स्मृती दिवस (साउन ६ गते बुधबार) को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै देउवाले आफू उपचारपछि स्वदेश फर्किन लागेको बताएका हुन् ।

गत फागुन १४ गते पत्नी डा. आरजु राणा देउवासहित सिंगापुर उडेका थिए । त्यसपछि हङकङतिर लागेका देउवाले आफू स्वदेश फर्किन लागे पनि सरकारले आफूमाथि धरपकड गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

आफूले लोकतन्त्रका लागि ठूलो संघर्ष गरेको उल्लेख गर्दै देउवाले त्यसको बाबजुत पनि सरकारले आफूमाथि प्रतिशोधात्मक गतिविधि गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

‘…म नेपाली भूमिमा पुनः पाइला टेक्दैछु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्र प्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समपर्ण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कँदैछु,’ उनले भनेका छन् ।

आफू केही समयदेखि उपचारका लागि देश बाहिर रहे पनि आफ्नो मन, सोच र चिन्ता देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । आफूले नयाँ सरकार बनेपछिका घटित राजनीतिक घटनाक्रमहरुलाई गम्भीर चासोका साथ नियालिरहेको बताएका छन् । उनले सरकारले फरक विचार राख्नेहरुप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रह साँधेको आरोप लगाएका छन् ।

‘विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिललिसलामा परिवारसहित विदेशमा रहे पनि मेरो मन, सोच, चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको छ,’ देउवाले भनेका छन्, ‘नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु । आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन ।’

उनले आफू वीपीको प्रेरणाबाट कांग्रेसमा लागेको उल्लेख गर्दै ६ दशकभन्दा बढी समय साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्मको यात्राबारे स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?