के तपाइ बाइक वा स्कुटरको ट्रायल दिँदै हुनुहुन्छ सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न ट्रायल परीक्षा धेरैका लागि चुनौतीपूर्ण बन्ने गर्छ । आवेदनदेखि ट्रायलको पालोसम्म लामो प्रतीक्षा गर्नुपर्ने अवस्था रहेकाले एकपटक ट्रायल दिने अवसरलाई सफल बनाउन आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ ।
बाइक तथा स्कुटरको ट्रायलमा सफल हुन सबैभन्दा आवश्यक कुरा आत्मविश्वास हो । ट्रायलका क्रममा सामान्य गल्तीले पनि फेल हुन सक्ने भएकाले प्रत्येक चरणमा नियम पालना गर्नुपर्छ । यी ६ कुरामा विशेष ध्यान दिए ट्रायल पास गर्ने सम्भावना धेरै हुन्छ ।
हेल्मेट लगाएर मात्रै ट्रायल सुरु गर्नुहोस्
बाइक तथा स्कुटरको ट्रायल सुरु गर्नुअघि ट्रायल सेन्टरमा पुगेपछि सबैभन्दा पहिले हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्छ । हेल्मेट लगाइसकेपछि त्यसको लक राम्रोसँग बाँधिएको छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ । त्यसपछि मात्रै बाइक वा स्कुटर स्टार्ट गरी स्ट्यान्ड हटाएर सावधानीपूर्वक अगाडि बढ्नुपर्छ । ट्रायलको सुरुवातमै यी आधारभूत नियमको पालना नगर्दा अनावश्यक समस्या आउन सक्ने भएकाले पहिलो चरणदेखि नै सतर्क रहन आवश्यक हुन्छ ।
‘८’ मा गल्ती नगर्नुहोस्
बाइक तथा स्कुटर ट्रायलको पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण ‘८’ (एट) हो । यही चरणमा धेरै परीक्षार्थी सामान्य गल्तीका कारण असफल हुने गर्छन् । ‘८’ भित्र प्रवेश गरेपछि पहेँलो रेखा छुन, खुट्टा जमिनमा टेक्न वा सवारी साधन बन्द हुन नदिन विशेष ध्यान दिनुपर्छ । यीमध्ये कुनै पनि गल्ती भए ट्रायल तत्काल असफल मानिन्छ ।
‘८’ को एक राउन्ड सफलतापूर्वक पूरा गरेपछि निर्धारित आधार राउन्ड लिएर बाहिर निस्कनुपर्छ । सुरुदेखि नै सन्तुलन कायम राख्दै धैर्यका साथ सवारी चलाउन सके ‘८’ सहज रूपमा पार गर्न सकिन्छ ।
जेब्रा क्रसिङमा ट्राफिक बत्तीको नियम पालना गर्नुस्
बाइक तथा स्कुटर ट्रायलमा जेब्रा क्रसिङ अर्को महत्त्वपूर्ण परीक्षणको चरण हो । यहाँ परीक्षार्थीले ट्राफिक बत्तीको संकेतअनुसार सवारी सञ्चालन गर्न सक्ने क्षमता मूल्याङ्कन गरिन्छ ।
जेब्रा क्रसिङमा पुग्नुअघि ट्राफिक बत्ती अनिवार्य रूपमा हेर्नुपर्छ । यदि रातो वा पहेँलो बत्ती बलिरहेको छ भने जेब्रा क्रसिङ नछोई सवारी रोक्नुपर्छ । हरियो बत्ती बलिरहेको अवस्थामा भने नरोकी अगाडि बढ्नुपर्छ । एकपटक जेब्रा क्रसिङमा प्रवेश गरिसकेपछि बिचमै बत्ती परिवर्तन भए पनि सवारी रोक्न नहुने नियम रहेको छ । यी नियमको सही पालना गर्न सके ट्रायलको यो चरण सहज रूपमा पार गर्न सकिन्छ ।
युटर्नमा साइड लाइट प्रयोग गर्न नबिर्सनुहोस्
जेब्रा क्रसिङ पार गरेपछि ट्रायलको अर्को महत्त्वपूर्ण चरण युटर्न हो । यस क्रममा सवारी चालकले संकेत बत्ती (साइड लाइट) को सही प्रयोग गर्न सक्नुपर्छ ।
युटर्नमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साइड लाइट बाल्नुपर्छ । युटर्न सफलतापूर्वक पूरा गरेपछि भने साइड लाइट तुरुन्त बन्द गर्नुपर्छ । ट्रायलका क्रममा साइड लाइट बाल्न वा युटर्नपछि बन्द गर्न बिर्सिएमा परीक्षार्थी ट्रायलमा असफल हुन सक्ने भएकाले यो चरणमा विशेष सावधानी अपनाउन आवश्यक हुन्छ ।
स्पिड ब्रेकरमा सन्तुलन कायम राख्नुस्
स्पिड ब्रेकर पनि बाइक तथा स्कुटर ट्रायलको महत्त्वपूर्ण परीक्षणमध्ये एक हो । यस चरणमा परीक्षार्थीले सवारी साधनमाथि कत्तिको नियन्त्रण राख्न सक्छ भन्ने मूल्याङ्कन गरिन्छ । स्पिड ब्रेकर पार गर्दा हतार नगरी बाइक वा स्कुटरलाई पूर्ण नियन्त्रणमा राख्दै बिस्तारै अगाडि बढ्नुपर्छ । सन्तुलन बिग्रिन नदिई सहज रूपमा स्पिड ब्रेकर पार गर्न सके ट्रायलको यो चरण सफलतापूर्वक पूरा गर्न सकिन्छ ।
उकालो–ओरालोमा विशेष सावधानी अपनाउनुस्
उकालो-ओरालोको परीक्षणलाई बाइक तथा स्कुटर ट्रायलको सबैभन्दा चुनौतीपूर्ण चरण मानिन्छ। यस क्रममा सवारीमाथिको नियन्त्रण, सन्तुलन र चालकको संयमको मूल्याङ्कन गरिन्छ ।
उकालोमा पुगेर दुई धर्काको बिचमा सवारी रोक्नुपर्छ र ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत दिएपछि मात्रै अघि बढाउनुपर्छ । उकालोमा सवारी पछाडि सर्न दिनु हुँदैन भने आवश्यक परे खुट्टा जमिनमा टेक्न पाइन्छ ।
उकालो पार गरेपछि ओरालोमा पनि दुई धर्काको बिचमै सवारी रोक्नुपर्छ । ट्राफिक प्रहरीबाट संकेत प्राप्त भएपछि मात्र सवारी अगाडि बढाउनुपर्छ । उकालो-ओरालोमा सन्तुलन र नियन्त्रण कायम राख्न सके ट्रायलको अन्तिम तथा महत्त्वपूर्ण चरण सफलतापूर्वक पूरा गर्न सकिन्छ ।
यी सबै चरणमा आवश्यक सावधानी अपनाएर ट्रायल दिएमा बाइक तथा स्कुटरको ट्रायल सफलतापूर्वक पास गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया