काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशातर्फ मोड्ने कामको सफल सुरुवात गरेको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई गति दिँदै त्यसको लाभ जनतासम्म पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई ठूलो जहाजको संज्ञा दिँदै चालु वर्षमा त्यसको दिशा परिवर्तन गर्ने चुनौतीपूर्ण काम सम्पन्न भएको उल्लेख गरे । उनका अनुसार दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाइनेछ भने चौथो र पाँचौँ वर्षमा सुधारबाट प्राप्त प्रतिफल जनतासम्म पुर्याउने योजना रहेको छ ।
‘हामीले यस वर्ष अर्थतन्त्रको दिशालाई मोड्ने काम गरेका छौँ । अब दोस्रो र तेस्रो वर्षमा यसलाई गति दिने र चौथो–पाँचौँ वर्षमा सुधारको प्रतिफल नेपाली जनतालाई बाँड्ने हाम्रो पाँचवर्षीय लक्ष्य हो,‘उनले भने ।
अर्थमन्त्रीले सुशासन सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री, मन्त्री तथा सबै नेतृत्व जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
उनले विगतमा बजेट राम्रो बने पनि कार्यान्वयन पक्ष कमजोर हुने समस्या दोहोरिएको भन्दै यसपटक परिणाममुखी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । पुँजीगत खर्च र राजस्व लक्ष्यलाई विश्वसनीय बनाउन सरकारले प्रभावकारी कदम चालिरहेको उनको भनाइ छ ।
आन्तरिक राजस्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन तथा पूर्ण डिजिटल प्रणाली लागू गरेर राजस्व लक्ष्य हासिल गर्ने योजना रहेको अर्थमन्त्री वाग्लेले बताए ।
उनले सरकारी खर्चले मात्र अर्थतन्त्र चलायमान नहुने भन्दै ५० खर्ब रुपैयाँभन्दा बढीको निजी क्षेत्रलाई सक्रिय बनाउन कानुनी र संरचनागत सुधार आवश्यक रहेको बताए । कानुनी सुधारका लागि ठूलो बजेट आवश्यक नपर्ने भए पनि यसले निजी लगानी आकर्षित गर्न र संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
अनुभवी कर्मचारीतन्त्रको सहयोगबिना आर्थिक सुधार सम्भव नभएको स्वीकार गर्दै अर्थमन्त्रीले कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिइने बताए । पछिल्ला तीन महिनामा कामको चाप र दबाब बढे पनि त्यसको उद्देश्य जनताका गुनासा छिटो सम्बोधन गर्नु रहेको उनले स्पष्ट पारे ।
सरकारले नीति, बजेट र कार्यान्वयनबीचको दूरी घटाउँदै छिटो, प्रभावकारी र कानुनी प्रक्रियाअनुसार काम गरेर जनतामा सुशासनको अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया