झापा । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना भने बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी तीन सय ७३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुई सय ७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने एक सय तीन वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् ।
उक्त घटनामा संलग्न एक सय ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन सय १० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
उनका अनुसार प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन् । फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाइएको उनले बताए ।
प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका दुई सय ९४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुई सय २० वटा मुद्दा फछ्र्योट भएका छन् भने ७४ वटा मुद्दा अनुसन्धानकै क्रममा छन् ।
त्यस्तै ठगीका ६५ वटा मुद्दामध्ये ४० वटा फछ्र्योट भएका छन् भने २५ वटा मुद्दा बाँकी रहेका छन् । आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकामा आठ वटा फछ्र्योट भएका छन् भने चार वटा अनुसन्धानकै क्रममा छन् । अनलाइन सट्टेबाजी (बेटिङ) सम्बन्धी दुई वटा मुद्दा दर्ता भएकामा दुवै फछ्र्योट भइसकेका छन् ।
पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी हुने बैंकिङ ठगी, अनलाइन किनमेलमा हुने ठगी, चिठ्ठा परेको वा घरबाटै काम गरेर धेरै आम्दानी हुनेजस्ता प्रलोभन देखाएर गरिने ठगीका घटना बढिरहेका छन् ।
प्रहरीले अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिंक वा सन्देशमा विश्वास नगर्न र छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया