पूर्वलडाकु लहानुरामको ठगी धन्दा : ३ करोडभन्दा बढी ठगी, रकम फिर्ता माग्दा ‘गोलीले उडाइदिने’ धम्की !

टिभीमा राजनीतिक विश्लेषक बन्नेदेखि गाउँ गाउँ पुगेर जनजाति परिवारलाई विश्वासमा पार्नेसम्मको ‘मोडस ओपरेन्डी’

लोकपथ
476
Shares

काठमाडौं । माओवादीका पूर्व लडाकु लहानुराम चौधरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३० जनाभन्दा बढी व्यक्तिको तीन करोड रुपैयाँभन्दा बढी ठगेको आरोपमा पक्राउ परेका छन् । क्यानडाको पाँचतारे होटेलमा काम लगाइदिने भन्दै नक्कली कागजात बनाएर गाउँ गाउँबाट रकम असुल्ने चौधरीले पैसा फिर्ता माग्न आएकालाई ‘गोलीले उडाइदिने’ धम्की दिने गरेको पीडितहरूले बताएका छन् ।

शनिवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई थानकोट क्षेत्रबाट पक्राउ गरी सोमबार वैदेशिक रोजगार विभागमा बुझाएको छ । चौधरी पक्राउ परेको खबर पाए लगत्तै प्रहरी कार्यालयमा ठगिएका २० भन्दा बढी पीडित उपस्थित भएर धमाधम जाहेरी दिइरहेका छन् । उनीहरूले डेढ लाखदेखि १९ लाख रुपैयाँसम्म बुझाएको विवरण प्रहरीसमक्ष पेस गरेका छन् ।

‘स्टारडम’ देखाएर मिडियाकै दुरुपयोग
लहानुराम चौधरी केही वर्षदेखि विभिन्न टेलिभिजन र अनलाइन मिडियामा आफूलाई ‘राजनीतिक विश्लेषक’ र ‘सेलिब्रिटी’ का रूपमा प्रस्तुत गर्दै आएका थिए । तिनै अन्तर्वार्ताको ‘स्टारडम’ देखाएर उनले मुख्यतः चौधरी, मगर लगायत जनजाति समुदायका सोझा परिवारलाई विदेश पठाइदिने प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

आरोपित लहानुराम चौधरी

उनले आफ्नो एक ‘शेर्पा’ साथीले क्यानडेली महिलासँग विवाह गरेको र तिनकै पाँचतारे होटेलमा काम लगाइदिने कथा बुन्थे । होटेलको नक्कली डिमान्ड–लेटर, भिसा, क्यानडाको अस्थायी बसोबास कार्ड (टीआरभी) समेत तयार पारेर पीडितलाई विश्वास दिलाउँथे । तर पैसा उठाइसकेपछि भने उनी झन्डै ९ महिनादेखि सम्पर्कविहीन भएर फरार रहेका थिए ।

मनीषाको कथा : खेलौना कारखानादेखि ठगीको सिकारसम्म
कैलाली टीकापुरकी मनीषा चौधरीले ८ कक्षासम्म मात्र पढेकी छिन् । ललितपुरको एक खेलौना उद्योगमा काम गर्दै गर्दा गाउँकै फुपाजु नाताका समीर चौधरीसँग उनको चिनजान भयो । समीरले नै ‘नानी तिमी विदेश जान्छौ ?’ भनेर प्रस्ताव राखे । घरको ऋण तिर्न र बच्चालाई राम्रोसँग पढाउन सकिन्छ भन्ने आशाले मनीषाले ‘जान्छु’ भनिन् ।

समीरले भने, ‘विदेश पठाउने त लहानु चौधरी हो, ऊ त ठुलो नेता हो ।’ मनीषाले युट्युबमा सर्च गरेर हेर्दा उनी साँच्चिकै ठुलै नेता रहेको अनुमान गरिन् । आफू काम गर्ने साहु र दाइलाई पनि साथै लगेर उनले लहानुलाई भेटिन् । लहानुले विदेशमा पठाइदिन सक्छन् भन्नेमा सबै विश्वस्त भए ।
सुरुमा लहानुले लिथुआनिया पठाउने र २ लाख १० हजार रुपैयाँ लाग्ने बताए । मनीषाले तुरुन्तै ७० हजार नगद, पासपोर्ट र नागरिकता बुझाइन् । पछि ‘लिथुआनिया मिलेन, क्यानडा पठाउँछु’ भन्दै क्यानडाको फाइभस्टार होटेलको अप्रुभल आइसकेको खबर सुनाए र थप पैसा माग गर्न थाले । खातामा रकम जम्मा गर्न खोज्दा उनले नगद नै मागे । मनीषा श्रीमानलाई साथ लगेर लहानुकै हातमा थप ८० हजार नगद दिन पुगिन् ।

पीडित मनीषा चौधरी

पछि क्यानडा जान कुल २० लाख रुपैयाँ लाग्ने बताइयो र जब अप्रुभल लेटर आइसकेको भन्दै केही कागजात पनि देखाए । लहानुले थप रकम पनि माग गर्न थाले । त्यसपछि भने मनीषालाई शङ्का हुन थाल्यो । ‘२ लाख १० हजारमा त खाडी मुलुक पनि पठाउँदैन, कसरी क्यानडा पठाउँछ ?’ भनेर घरमा कुरा गरिन् । तर लहानुले आफूसँग रहेको अस्थायी बसोबास कार्ड अर्थात् टीआरभी कार्ड देखाएपछि फेरि विश्वास गरिन् ।

मनीषाले आफ्ना आफन्तलाई पनि चिनजान गराएर रकम दिन लगाइन् । आफैँले जम्मा १ लाख ५० हजार मात्र दिए पनि उनका आफन्तले प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले रकम बुझाइसकेका थिए । अहिले ती सबै रकम डुबेको छ । लहानु त ९ महिनादेखि बेपत्ता नै थिए र शनिवार मात्रै पक्राउ परेका हुन् ।

ठोरीका विनोद र बुद्धिमाथि विश्वासघात
चितवन ठोरीका विनोद श्रेष्ठलाई गाउँकै एक समाजसेवी बुद्धि बहादुर गुरुङले लहानुसँग चिनाइदिएका थिए । विनोद भन्छन्, ‘लहानुले क्यानडाको होटेल ‘एस्टी मिकल’ को डिमान्ड-लेटर देखाएर कोही किचेन, कोही सरसफाइ, कोही वेटरको काममा पठाउने सपना देखाए । तलबसमेत डिमान्डमै उल्लेख गरेको देखाए । कतिपयको भिसा लागिसकेको भन्दै पहिलो चरणका भिसा लागेको व्यक्ति भन्दै मान्छेको फोटो पठाए । हामीलाई दोस्रो चरणमा पठाउने आश्वासन दिए ।’

विनोदले पहिलो पेमेन्ट स्वरूप १ हजार डलर बराबरको १ लाख ५० हजार रुपैयाँ दिए । ‘पछि बुझ्दै जाँदा सबै कागजात नक्कली रहेछ,’ उनी भन्छन् । ठोरी क्षेत्रबाट मात्रै प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्मका दरले ठगी भएको विनोदले बताए ।

लुहानुराम चौधरीबाट ठगिएका पीडितहरु क्रमश विनोद श्रेष्ठ, आशा चौधरी, मनीषा चौधरी र बुद्धी बहादुर गुरुङ ।

यसै क्षेत्रका समाजसेवी बुद्धि बहादुर गुरुङ त झन् बढी ठगिए । पूर्व साइकल यात्री र समाजसेवीका रूपमा परिचित बुद्धि लहानुको भिडियो हेरेर प्रभावित भएका थिए । ‘उहाँ देशलाई केही उज्ज्वल भविष्य दिने मान्छे जस्तो लागेको थियो,’ बुद्धि भन्छन् । २-३ वर्षअघि भेट भएपछि लहानुले आफ्नो छोरी अमृता गुरुङका लागि पनि प्रक्रिया अगाडि बढाउने वाचा गरे । ‘२० लाख रुपैयाँमा पठाइदिन्छु, पछि कमाएर दिए पनि हुन्छ, म त २०८४ मा चुनाव लड्ने हो, त्यति बेला सहयोग गर्नुहोला’ भन्ने लहानुको कुराले उनी झन् प्रभावित बनेका थिए ।

लहानुराम चौधरीले पीडितलाई दिएका नक्कली कागज

बुद्धिले आफ्नो तर्फबाट ११ लाख रुपैयाँ र आफ्नै एक साथीको १८ लाख गरी कुल २९ लाख रुपैयाँभन्दा बढी रकम विभिन्न चरणमा लहानुलाई बुझाए । ‘होटेल स्यामनीकल क्यान्सिल भयो भनेर फेरि जेजीएस ग्रुप होटेलको नाममा नयाँ डिमान्ड देखाए । क्यानडा पुग्ने बित्तिकै फोन चाहिने, त्यहीँको सिम कार्ड चाहिने लगायतका कुरा देखाउँदै सबै डिमान्ड आइसकेको, भिसा लागिसकेको भन्दै आई फोन १५ प्रो म्याक्स डेलिभरी गरी नेपाल आइरहेको समेत नक्कली कागजात देखाए । त्यसपछि गाउँका अन्य व्यक्तिहरूले समेत एकमुष्ट ३५–४० लाख रुपैयाँ बुझाइसकेपछि भने लहानुले सबैलाई ब्लक गरेर सम्पर्कविहीन भए । सम्पर्कविहीन हुनुभन्दा पहिले काम नहुने भए रकम फिर्ता गर्नु भन्दा काम हुन्छ भन्ने आश्वासन मात्र दिइरहन्थे ।

भरतपुरका आशाको छोराको सपना तुहाइयो
चितवनकै आशा चौधरी लहानु चौधरीका फ्यान थिए । भिडियोहरूमा उनका विचार हेरिरहन्थे । आफ्नै समुदायका व्यक्ति भएको कारण पनि आशा लहानुलाई फलो गरिरहेका हुन्थे ।

एक दिन भरतपुर बसपार्कमा अचानक लहानुसँग भेट भयो । त्यही भेट नै आशाका लागि जाल बन्यो । आशा भन्छन्, ‘दुई वर्षदेखि मिडियामा उनलाई फलो गरिरहेको थिएँ । एक दिन भरतपुर बसपार्कमा साथीले देखाइदिएपछि भेट्न गएँ । नमस्कार गरेँ, चिया खायौँ । उनले मान्छे बाहिर पठाउने काम पनि गर्छु भने । मेरो छोरा १२ क्लियर गरेर बेरोजगार बसेको थियो, पठाइदिनुपर्‍यो भन्दा हुन्छ भन्नुभयो ।’

पीडित आशा चौधरी

त्यसपछि आशाले लहानुलाई आफ्नै कोठामा लगे । त्यहाँ उनले झोलाबाट कागजात निकालेर निमा शेर्पा र अर्को एक व्यक्तिको प्रोसेस भइसकेको, छाप लागिसकेको भन्दै कागजात देखाए । आशा विश्वासमा परे । फाराम भरेपछि लहानुले सुरुमा २ लाख ३५ हजार लाग्ने र कुल २० लाखमा क्यानडा पुराइदिने बताए । आशाले पटक–पटक गरेर ९ लाख १३ हजार ५ सय रुपैयाँ बुझाए । तर रकम बुझाएको २ वर्षसम्म न भिसा आयो, न मान्छे सम्पर्कमा नै आए । आशा भन्छन्, ‘सय कडा ३ ब्याजमा ऋण लिएर पैसा बुझाएको थिएँ, तर अहिले घर र गाउँ जान पनि गाह्रो भएको ।’

केही उपाय नलागेपछि अन्ततः आशा वैदेशिक रोजगार विभागमा उजुरी दिन बाध्य भए । उजुरी दिएको करिब ६ महिनापछि मात्रै लहानु पक्राउ परे ।

एक महिना आफैँले पालेको व्यक्तिलाई नै ठगेपछि …

गोरखा स्थायी ठेगाना भई पछि चितवनको ठोरीमा बसाइसराई गरी गएका खेम बहादुर थापा त झन् पीडित मात्र होइन, ठगको संरक्षक पनि बनेका थिए । उनले लहानुलाई झन्डै डेढ महिना आफ्नै घरमा लुकाएर राखे । ‘राज्यले गाह्रो गरेको छ’ भनेपछि खेमले अण्डा, लोकल माछा, सलाद र बेलुकीपख दुई बोतल टुबोर्ग बियरसमेत दैनिकरुपमा खुवाए । खेम भन्छन्, ‘दुई नाति–नातिनाको पेट काटेर लहानुरामलाई खुवाएँ,’ तर ठग निस्कियो ।

खेम स्वयं नै क्यानडा जाने सपना बुनेर १३ लाख रुपैयाँभन्दा बढी गुमाइसकेका व्यक्ति हुन् । लहानुले भिजिटर भिसामा गएर पछि बिजनेस भिसा दिने भनेपछि उनले रकम बुझाएका थिए ।

पीडित खेम थापा मगर

खेमले वीरगन्जमा रहेको ग्लोबल आइएमई बैंक र सिमराको माछापुच्छ्रे बैंकमा पैसा जम्मा गर्न पनि लहानुलाई सहयोग गरे । खेमका अनुसार, एक पटक ३-३ लाखका दरले तीन जना (बुद्धिकी छोरी अमृता, राहुल विश्वकर्मा र खेम) को १० लाख ५० हजार रुपैयाँ लहानुले ‘सागर राई’ को नाममा जम्मासमेत गराए ।

लहानुराम चौधरीले पीडितलाई दिएका नक्कली कागज

खेम भन्छन्, ‘सागर राई को हो, म चिन्दिनँ । तर आफूहरूले नगद लिएर दिएको उक्त रकम पनि लहानुले आफ्नै नामबाट डिपोजिट गरेर सागर राईको नाममा हाल्न लगाए । खेमका अनुसार लहानुले आफू पैसा नलिने र अरूकै खातामा जम्मा गर्न लगाउने गरेको धेरै पीडितले बताएका छन् ।

सागर चौधरीबाट ७० लाख उठाए
पीडित मनीषा चौधरीका अनुसार लहानुले कैलालीका पीडित सागर चौधरीमार्फत विभिन्न व्यक्तिको ७० लाख रुपैयाँ लिएका छन् । सागर स्वयं ठगिएका हुन् वा संकलनकर्ता, यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । तर, लहानुको मुख्य शैली नै अरूकै नाममा रकम जम्मा गराउने र नगद आफूले लिने थियो ।

पक्राउपछि बयानमा उनले थोरै रकम मात्र लिएको र नगद लिएको अस्वीकार गरेका छन् । ‘प्रमाण के छ ?’ भन्दै पीडितलाई उल्टै थर्काउने गरेको पनि पाइएको छ । आफू पनि एक भारतीय नागरिकबाट ठगिएको भन्दै उम्कने प्रयास गरेको प्रहरी स्रोतले बताएको छ ।

रकम माग्दा लहानुको धम्की ‘चुप लाग्नु, म सबैलाई एक-एक गरेर हिसाब गर्छु’

लहानुराम चौधरीले पीडितलाई दिएका नक्कली कागज

पीडितहरूका अनुसार जब उनीहरूले पैसा फिर्ता माग्न थाले, लहानुले सुरुमा आश्वासन र धम्कीको मिश्रित रणनीति अपनाए । विनोद श्रेष्ठलाई पठाएको एक भ्वाइस मेसेजमा लहानुले भनेका छन्, ‘अलिक दिन चुप लाग्नु सर, म सबैलाई एक-एक गरेर काम गर्दै छु । उसले धोका दिएपछि तपाईँ हामी बाजाबाज हुनुपर्ने भयो ।’ लहानुको यस्तो झूटो आश्वासनले पीडितलाई झनै अलमलाएको थियो ।

रकम फिर्ता माग्दा गोलीले उडाइदिने धम्की !
लहानुले काम नगरी ठगी गरेको विश्वास भएपछि पीडितहरूले रकम फिर्ता मागेका थिए । रकम फिर्ता मागेपछि लहानुले ‘गोलीले उडाइदिने’ सम्मको धम्की दिएको पीडित मनीषाले बताइन् । मनीषाले लोकपथसँग भनिन्, ‘काम नै नगरी ठगी भएको विश्वास भएपछि मैले लहानुको श्रीमतीलाई समेत फोन गरेर रकम फिर्ता मागेकी थिएँ । लहानुको श्रीमतीले त छाडा बोल्दै आफू पनि पहिलेको लडाकु भएको भन्दै प्रहरीसँग नडराएको आफू कोहीसँग नडराउने भन्दै आफूसँग अझै हतियार रहेकाले गोलीले उडाइदिन्छु भनिन् ।’

खासमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लहानुराम चौधरी आफै कैलाली, चितवन, बर्दिया, गोरखा, धादिङ लगायत जिल्लामा पुगेर पीडित खोज्थे र पहिले विश्वासमा पार्थे । अनि मोटो रकम लिएर ठगी गर्ने गरेका थिए ।

रकम फिर्ता हुनेमा पीडितको आस
लहानुराम चौधरी पक्राउ परेसँगै ठगीको यो शृङ्खला बाहिर आएको हो । पीडितहरू वैदेशिक रोजगार विभाग र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिन आइरहेका छन् । ‘सबै गरिब जनता हौँ, कोही ऋण काढेर, कोही घर–खेत बन्धक राखेर पैसा बुझाएका थियौँ ।’

उनी अगाडि भन्छिन्, ‘अहिले बुझ्दा ३० जनाभन्दा बढीलाई ठगी गरेको र साढे ३ करोड रुपैयाँभन्दा बढी रकम लिएको बुझिएको छ । चौधरी हाल वैदेशिक रोजगार विभागको हिरासतमा छन् र उनी विरुद्ध वैदेशिक रोजगार ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

प्रहरीका अनुसार लहानुको ठगी धन्दामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ । पीडितहरू भने आफूहरूको रकम फिर्ता पाउने र दोषीले कडा सजाय पाउने आसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?