बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

लोकपथ
21
Shares

नवलपरासी पश्चिम । बर्दघाट सुस्तापश्चिम नवलपरासीमा दुई सातादेखि वर्षा नहुँदा खडेरी लम्बिएको छ । अत्यधिक गर्मीका कारण धानखेतमा रोपिएका बिरुवा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा धाँजा फाट्न थालेको छ भने सिँचाइका स्रोतसमेत सुक्दै गएका छन् । यसले धान रोपाइँ प्रभावित हुनुका साथै खानेपानीको समस्या पनि चुलिएको स्थानीयले बताएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–६ का किसान दीनानाथ यादवले खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँको काम नै रोक्नुपरेको बताए । उनका अनुसार खडेरीका कारण डिप बोरिङ र चापाकलमा समेत पानीको सतह घट्दै गएको छ, जसले सिँचाइसँगै पिउने पानीको समस्या पनि बढाएको छ ।

पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले गण्डक नहरदेखि दक्षिणतर्फका केही गाउँमा चापाकलबाट थोरै पानी आए पनि आफ्नो क्षेत्रतर्फ पानीको अभाव गम्भीर बनेको जानकारी दिए । खानेपानीको समस्या समाधान गर्न स्थानीयले चन्दा संकलन गरी मोटर सञ्चालन गरेर खानेपानी संस्थानको डिप बोरिङबाट पानी वितरण गर्नुपरेको उनले बताए ।

उनका अनुसार दुई साताभन्दा बढी समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेको छ । रोपिएका धानका बिरुवा सुक्न थालेपछि किसानले बाँकी खेतमा रोपाइँ गर्ने काम पनि स्थगित गरेका छन् ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिवप्रसाद अर्यालले जिल्लामा हालसम्म करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको बताए । तर, लगातारको खडेरीले रोपिएका बिरुवासमेत सुक्न थालेपछि किसानहरू आत्तिन थालेको उनको भनाइ छ ।

‘दुई सातादेखि पानी नपर्दा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भएको छ । बोरिङ र चापाकल सुक्दै जाँदा पश्चिम नवलपरासी क्षेत्रमा समस्या झन् जटिल बनेको छ,’ प्रमुख अर्यालले भने ।

यता, पूर्वी नेपालबाट मनसुन भित्रिएको समाचारसँगै स्थानीय किसानले छिट्टै वर्षा हुने आशा गरेका छन् । समयमै वर्षा भए गर्मी कम हुनुका साथै खानेपानी र सिँचाइको समस्या समाधान हुने, सुक्न थालेका धानका बिरुवाले पुनः जीवन पाउने र कृषि गतिविधि सहज बन्ने अपेक्षा किसानहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?