विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट क्षेत्रमा मध्यरातमा अश्लील गतिविधि गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङका ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र छविलाल घिमिरे, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना तथा भोजपुरका १८ वर्षीय मनिष काफ्ले रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति परोपकार घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई होहल्ला गर्दै निर्वस्त्र अवस्थामा अश्लील व्यवहार गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो ।
घटनास्थलमा पुग्दा शव जलाउन प्रयोग हुने चिता बनाउने स्थानमा आगो बालिएको अवस्थामा ६ जना व्यक्ति भेटिएका थिए। तीमध्ये दुई जना उभिएर एकअर्कालाई धकेलाधकेल गर्दै वादविवाद गरिरहेका थिए। प्रहरीका अनुसार एक जना पूर्ण रूपमा निर्वस्त्र अवस्थामा थिए भने अर्का एक जनाले कम्मरमुनि भित्री वस्त्र मात्र लगाएका थिए। उनीहरूले अश्लील शब्द प्रयोग गर्दै होहल्ला गरेको समेत प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको र हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया