काठमाडौं । कुनै समय स्कुलमा सँगै पढेका आफ्नै साथीले फिरौतीको लोभमा ज्यान मार्ने धम्की दिँदै अपहरण गर्न सक्लान् ? फेरि अपहरण गरी सकेपछि उनीहरू कसरी उम्कन सक्लान् ?
तर २२ लाख फिरौती रकम उठाउनकै लागि भन्दै आफ्नै साथीको योजनामा चितवनबाट एक किशोर अपहरणमा परेर काठमाडौं पुराइयो । यद्यपि नेपाल प्रहरीको सक्रियता र किशोर तथा परिवारको चलाखीका कारण अपहरणको १८ घण्टामै किशोरको सकुशल उद्धार भएको छ । अनि अपहरणमा संलग्न ५ जना भारतीय नागरिकहरूसमेत प्रहरीको नियन्त्रणमा पुगेका छन् ।
कसरी भयो किशोरको अपहरण ?
चितवनको नारायणगढमा बस्ने १६ वर्षीय रिशव गुप्ताको परिवार सुनचाँदीको कारोबार गर्दथ्यो । रिशवका बुवा आफै सुनको कारोबारसमेत गर्ने गर्दथे । उनीहरूको परिवार राम्रैसँग चलिरहेको थियो ।
रिशवको परिवार लामो समयदेखि चितवनमै बस्ने भएकाले रिशव पनि चितवनकै विद्यालयमा पढ्थे । स्थानीय सिद्धार्थ बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने क्रममा एक जना भारतीय साथीसँग उनको चिनजान भयो ।
भारत बिहार स्थायी ठेगाना भएका सुजित कुमार नाम गरेका किशोर र रिशवको चिनजान भयो । चिनजानपछि उनीहरू सामान्य साथी बनेका थिए ।
रिशवले सोही विद्यालयबाट एसइई समेत उत्तीर्ण गरी हाल कक्षा ११ को अध्ययन सुरु गरेका छन् । तर सुजित कुमार भने कक्षा ८ मा केही समय पढेर भारत नै फर्किए ।
गत जेठको ३१ गते एकाएक रिशवको इन्स्टाग्राम आइडीमा सुजितको कल आयो । आफू घुम्नका लागि नेपाल आएको भन्दै कल गरेर सुजितले रिशवलाई पनि भोलि अर्थात् असार १ गते बिहान भेट्ने भन्दै आफू पहिले पढेको विद्यालयको पछाडि बोलाए ।
तर असारको १ गतेबाटै रिशवको कक्षा ११ को पढाई सुरु हुने भएकाले उनले सुजितलाई भेट्न नसक्ने बताए । त्यसपछि सुजितले बिहान नभए बेलुका भेट्नुपर्छ भन्दै पटक पटक कल गरे ।
असार १ गते कलेज गएर फर्किएपछि साँझ रिशव आफ्नो साइकल पनि लिने र साथी सुजितलाई पनि भेट्ने भन्दै नारायणगढ पुगे । त्यहाँ सुजित र रिशवबिच भेटघाट भएपछि सुजितले ल्याएको बिहार राज्यमा दर्ता भएको बिआर २२ बिएच ६१३७ नम्बरको स्कारपियो गाडीमा चढाए । गाडीमा अन्य ४ जना भारतीयजस्ता देखिने मानिसहरू पनि भएको कारण रिशवले गाडीमा नचढ्ने भने पनि सुजितले नजिकै गएर फर्कने भन्दै जबरजस्ती गाडीमा चढाए ।

त्यसपछि करिब एक घण्टासम्म सामान्य अवस्थामै कुराकानी गर्दै आफूहरू नेपाल घुम्न आएको बताए । साँझ करिब साँढे ६ बजे सुजित आएको गाडीमा चढेका रिशव त्यसको करिब एक घण्टामा मुग्लिङ पुगे । त्यहाँको एक होटेलमा करिब २ घण्टा राखिएको र चाउचाउ खाएको अपहरित किशोर रिशवले लोकपथलाई बताए ।
त्यसपछि अबेला भइसकेकाले रिशवले घर छाडिदिन वा आफू यहीँबाट गाडी चढेर जाने भनेपछि साथी सुजितले ल अब घर जाने भन्दै गाडीमा चढाए । तर मुग्लिङबाट नारायणगढतर्फ आउनुपर्ने गाडी काठमाडौंतर्फ लागेपछि रिशवले प्रतिकार गर्न खोजे । त्यसपछि सुजितसँगै आएका अन्य दुई युवाले रिशवको अनुहारमा मुक्का हान्दै अपहरणमा परेको जानकारी दिए । अनि दुई जनाले पेटको दुबैतर्फ चक्कु राखेर हल्ला गरेर चक्कु हानिदिने धम्की दिए । त्यसपछि उनीहरू त्यहाँबाट गाडीमै काठमाडौंतर्फ लागे ।
काठमाडौंको नागढुङ्गामा गाडीको सामान्य चेकजाँच भयो । रिशवले आफू अपहरणमा परेको कुरा जानकारी गराउन त खोजे, तर दुईतिर चक्कु राखेको कारण केही बोलेमा हत्या हुनसक्ने भयले उनले केही बोलेनन् । त्यसपछि गाडी त्यहाँबाट सिधै नयाँ बसपार्कमा रहेको होटेल फेमिलीमा गएर रोकियो ।
काठमाडौंको नयाँ बसपार्कमा रहेको होटेल फेमिली, काठमाडौं नै बस्ने सुजित कुमारका साथी बिक्की पटेलले व्यवस्थापन गरेका थिए । त्यस होटेलको कोठा नम्बर २०३ मा पुगेपछि रिशवमाथि फिरौतीका लागि दबाब दिन थालियो ।
अपहरणकारीका समूहका एक सदस्यले नेपालमै लिएको एक सिमकार्डबाट ह्वाट्सएप खोली सोही नम्बरबाट रातको १ बजे रिशवका बुवालाई भ्वाइस म्यासेज पठाउन लगाए । रिशव आफैलाई आफू अपहरणमा परेको र २४ घण्टाभित्र २२ लाख रुपैयाँ फिरौती रकम तयार पारेर पठाउन रिशवले सन्देश पठाए । साथै २४ घण्टाभित्र रकम नपाए आफ्नो हत्या हुने समेत रिशवले सन्देशमा पठाए ।
यता उनका बुवाले रिशवको खोजी गरिरहेका थिए । त्यसपछि उनले आफूले रकम जम्मा गरेर २४ घण्टाभित्रै रकम दिने तर रिशवलाई केही नगर्न भने । यता रिशवको खोजीमा जुटेको प्रहरीलाई पनि रिशव अपहरणमा परेको जानकारी भयो र रिशवको उद्धारका लागि मानवीय र प्राविधिक विश्लेषणमा लाग्यो । चितवन प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत सहयोग माग्यो । कार्यालयका प्रमुख एसएसपी सन्तोष कुमार खड्काले पिल्लर ४ का डिएसपी अनिल कुमार घिमिरेलाई किशोरको उद्धार र अपहरणकारीलाई पक्राउ गर्न खटाए ।
पहिलो भ्वाइस म्यासेज पठाएको १० घण्टापछि अपहरणकारीकै दबाबमा रिशवले आफ्ना बुवालाई फेरि अर्को सन्देश पठाएर छिटो रकम जम्मा गर्न भने ।
रिशवलाई अपहरण गर्ने समूहमा परेका ६ सदस्यमध्ये गाडीचालक मुमताज आलम र अर्का एक व्यक्ति भने बिहानै गाडी लिएर फर्किसकेका थिए ।
अपहरणमा परेको करिब २० घण्टामा रिशव होटेलको ट्वाइलेटमा गए । उनले केही गरेर पेन र कागजको टुक्रा प्राप्त गरेका थिए । ट्वाइलेटमा गएर उनले सेतो कागजमा लेखेर आफू अपहरणमा परेको र प्रहरी तथा मेरो बाबालाई तत्काल खबर गरिदिन भने ।

होटेलको पछाडिपट्टिको भागमा भलिबल खेल्ने समूहका सदस्यहरू थिए । त्यो चिट एक व्यक्तिले फेला पारे, जुन असार २ गते अपराह्न ३ बजेको कुरा थियो ।
त्यसपछि ती व्यक्तिले रिशवका बुवालाई सम्पर्क गर्दै छोरा अपहरणमा परेको हो भनी सोधे र बुवाबाट हो भन्ने जानकारी आएपछि लगत्तै प्रहरीलाई पनि खबर गरे ।
यता प्रहरीले पनि रिशवलाई अपहरण गरी राखिएको सम्भावित स्थानबारे प्राविधिक विश्लेषणबाट जानकारी पाइसकेको थियो । त्यस लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक रञ्जित लामा नेतृत्वमा प्रहरीको एक टोली रिशवको उद्धारका लागि पुग्यो । करिब १० मिनेटको खोजमै रिशवलाई अपहरण गरी राखिएको होटेल फेमिलीमा पुगेर रिशवलाई उद्धार गर्यो भने अपहरणमा संलग्न २ जना व्यक्तिलाई पनि तत्कालै नियन्त्रणमा लियो ।
अपहरणमा संलग्न बाँकी २ जना व्यक्ति भने केही सामान किन्न बाहिर गएको कारणले २ जनालाई कुरेर बस्यो र अपराह्न ४ः३० बजे अपहरणमा संलग्न ५ भारतीय नागरिकलाई पक्राउ गर्दै रिशवको सकुशल उद्धार गर्यो ।
को को थिए ५ भारतीय अपहरणकारी ?
रिशवको अपहरणको मुख्य योजनाकार रिशवकै स्कुलका साथी सुजित कुमार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । यो अपहरणमा रिशवकै साथी रहेका भारत बेतिया, बिहारका १८ वर्षीय सुजित कुमार, सोही स्थानका वर्ष १८ कै गोलु कुमार सोनी, वर्ष १८ कै गोलु कुमार, वर्ष १८ कै बिक्की कुमार र वर्ष १८ कै मोहम्मद साहिद रहेका छन् ।

अपहरणमा संलग्न भएका सबै १८ वर्षका रहेका पाइएको छ । घटनामा संलग्न चालक र अर्का एक सदस्य फरार रहेको पाइएको छ ।
सुजित कुमार भर्खरै छुटेका थिए जेलबाट
हाल नेपालमा अपहरणमा संलग्न र मास्टरमाइन्ड भनिएका सुजित कुमार भारतमा करिब २ वर्ष जेल बसेर भर्खरै छुटेको पाइएको छ । भारतमा एक व्यक्तिको हत्यामा संलग्न भनी आरोप लागेका उनी २ वर्ष जेल बसेर धरौटीमा छुटेका थिए । ३ महिना अगाडि मात्रै जेलबाट छुटेका सुजित रिशवको अपहरण गरी फिरौती रकम असुल गर्न नेपाल आएका थिए । सुजितकै योजनामा अन्य व्यक्तिलाई साथमा लिएर सुजित जेठ ३१ गते वीरगन्ज भन्सारबाट गाडीको अस्थायी पास लिएर नेपाल आएको पाइएको छ ।
चितवनबाट अपहरणमा परेको कारण यस घटनाको थप अनुसन्धान र मुद्दा दर्ताका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरिएका रिशवसहित अपहरणमा संलग्न ५ जना भारतीय नागरिकलाई चितवन पठाएको छ ।
रिशवले भने, ‘ज्यान बचाइदिएकामा नेपाल प्रहरीलाई धन्यवाद’
यता अपहरणमा परेको २० घण्टामै सकुशल उद्धार गरेकामा रिशवले प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । बुधवार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा घटनाबारे जानकारी दिँदै रिशवले नेपाल प्रहरीको सक्रियताले आफ्नो ज्यान बचेको भन्दै प्रहरीलाई धन्यवाद सुनाउँदै कृतघ्न भएको बताए ।
रिशवले भने, ‘नेपाल प्रहरीले समयमै सक्रियता जनाएको थिएन भने के हुन्थ्यो म यसै भन्न सक्दिन । प्रहरीको सक्रियताले नै म सकुशल उद्धार हुन सके, जसका लागि नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद ।’
समयमै अपहरितको उद्धार गर्न सक्यौँ, हामी खुसी छौँ : एसएसपी सन्तोष कुमार खड्का
यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष कुमार खड्काले समयमै अपहरितको सकुशल उद्धार गर्न सकेकामा आफ्ना प्रहरी कर्मचारीप्रति गर्व गरेका छन् । सूक्ष्म अवलोकन, प्राविधिक विश्लेषण र नागरिकको सहयोगले बिना कुनै हानी अपहरितको उद्धार भएको र अपहरणकारीलाई समातिएको खड्काले बताए ।
लोकपथसँग कुराकानी गर्दै खड्काले भने, ‘एकदमै छिटो हामीले अपहरितको उद्धार र अपहरणकारी समूहलाई पक्राउ गरेका छौँ । यहाँ अपहरितलाई कुनै क्षति हुन पनि दिएनौ । हाम्रो टोलीले समयमै उद्धार र अपराधीलाई नियन्त्रणमा लिएको छ, मलाई मेरो टिमप्रति गर्व छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया