काठमाडौं । बजारमा बिक्री वितरणका क्रममा गुणस्तर वा सुरक्षासम्बन्धी समस्या देखिएका खाद्य तथा पेय पदार्थका निश्चित ब्याचहरू मात्रै फिर्ता बोलाइने (रिकल) गरिन्छन् । तर कुनै एउटा ब्याचमा समस्या देखिँदैमा सम्बन्धित उद्योगका सबै उत्पादन वा सम्पूर्ण ब्राण्ड नै गुणस्तरहीन भएको निष्कर्ष निकाल्नु गलत हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लागू भएपछि विभागले जोखिमयुक्त खाद्य तथा पेय पदार्थ बजारबाट फिर्ता गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
विभागका अनुसार रिकलको उद्देश्य उपभोक्तालाई सम्भावित जोखिमबाट जोगाउनु हो, कुनै उद्योग वा ब्राण्डलाई दोषी ठहर गर्नु होइन ।
विभागकी प्रवक्ता बालकुमारी शर्माका अनुसार उपभोक्ताको गुनासो, बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका आधारमा गुणस्तरमा समस्या देखिएका उत्पादनहरू रिकल गरिन्छन् । रिकल गर्दा कुन ब्राण्डको, कुन उत्पादन र कुन ब्याच नम्बरका सामग्री फिर्ता लिनुपर्ने हो भन्ने स्पष्ट रूपमा सार्वजनिक सूचना जारी गरिने उनले बताइन् ।
‘हामीले कुनै उद्योगको सम्पूर्ण उत्पादन होइन, समस्या देखिएको निश्चित ब्याच मात्रै बजारबाट फिर्ता लिन निर्देशन दिन्छौँ,’ शर्माले भनिन्, ‘त्यसैले एउटा ब्याचमा समस्या देखियो भन्दैमा उक्त उद्योगका सबै उत्पादन वा सम्पूर्ण ब्राण्डलाई नै खराब भन्न मिल्दैन ।’
उनका अनुसार रिकल प्रणाली लागू भएको सुरुआती चरणमा उपभोक्तामाझ कुनै ब्राण्डको एउटा उत्पादन फिर्ता गरिएपछि त्यस कम्पनीका सबै वस्तु असुरक्षित हुन् भन्ने भ्रम देखिने गरेको थियो । तर पछिल्लो समय उपभोक्तामा खाद्य सुरक्षा र रिकल प्रक्रियाबारे चेतना बढ्दै गएको विभागको निष्कर्ष छ ।
‘अहिले उपभोक्ताले पनि कुन ब्याचमा समस्या आएको हो भन्ने बुझ्न थालेका छन् । रिकल गरिएको ब्याच प्रयोग नगर्ने तर अन्य स्वीकृत उत्पादनप्रति अनावश्यक शंका नगर्ने अवस्था विकसित हुँदै गएको छ,’ शर्माले भनिन् ।
खाद्य विज्ञहरूका अनुसार विश्वभर खाद्य उद्योगमा रिकल प्रणालीलाई गुणस्तर नियन्त्रणको महत्वपूर्ण संयन्त्रका रूपमा लिइन्छ । कुनै उत्पादनमा समस्या भेटिएपछि त्यसलाई बजारबाट हटाउनु उपभोक्ता सुरक्षाप्रतिको जिम्मेवारीको संकेत मानिन्छ ।
त्यसैले एउटा ब्याचमा देखिएको कमजोरीलाई आधार बनाएर सम्पूर्ण उद्योग वा ब्राण्डलाई नै असुरक्षित ठहर गर्नु भन्दा सम्बन्धित ब्याच नम्बर र विभागको सूचनालाई आधार मानेर निर्णय गर्नु उपभोक्ताका लागि बढी उचित हुने विज्ञहरूको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया