सङ्खुवासभामा ३६८ चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

लोकपथ
28
Shares

सङ्खुवासभा । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली गरी ल्याइएका ३६८ वटा चौँरीका पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका उक्त चौँरीका पुच्छरसहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोलीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा चौँरीका पुच्छर फेला पारेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार हालसम्म उक्त चौँरीका पुच्छर कसको हो भन्ने खुल्न सकेको छैन । बरामद गरिएको सामग्री किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको छ ।

प्रहरीले ट्याक्टर र चौँरीका पुच्छर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?