काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । कोषमा दैनिक रूपमा रकम थपिँदै गएपछि लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेको कोषले प्राथमिकताका नयाँ क्षेत्रहरू निर्धारण गरेको छ ।
कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा अन्य नवीकरणीय ऊर्जा उत्पादन क्षेत्रलाई कर्जा तथा सहवित्तीयकरण लगानीका प्रमुख प्राथमिकतामा राख्ने निर्णय गरेको छ । यसका लागि सरकारी स्वामित्वका कम्पनीसँग सहकार्य गरी ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने नीति अख्तियार गरिएको छ ।
कोषका निर्देशक रोहित रेग्मीका अनुसार हालसम्म चार वटा लगानी प्रस्ताव प्राप्त भएका छन्, जसमध्ये दुई प्रस्तावमाथि छलफल भइरहेको छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थामा रकम थन्क्याएर राख्दा राष्ट्रिय आर्थिक विकासमा पर्याप्त योगदान नहुने भएकाले उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्न लागिएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न कोषमा रहेको रकम उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति लिएको सन्दर्भमा सामाजिक सुरक्षा कोषले पनि सोही नीति अनुसार रणनीति अघि बढाएको छ ।
कोषका निर्देशक शर्माका अनुसार खानीजन्य क्षेत्रअन्तर्गत क्लिङ्कर उत्पादन गरी स्वदेशमै सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि लगानी गर्ने तयारी छ ।
हालसम्म कोषमा २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले अहिलेसम्म २० अर्ब ४५ करोड २६ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ ।
स्वास्थ्य तथा मातृत्वतर्फ ३ अर्ब २३ करोड रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षातर्फ २८ करोड ४४ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा अन्तर्गत ३४ करोड ९५ लाख रुपैयाँ र अवकाश दाबी अन्तर्गत १६ करोड ५८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ ।
कोषले पर्यटन, निर्माण, सूचना प्रविधि, सेवा र कृषि क्षेत्रमा पनि सहवित्तीयकरण कर्जा लगानी गर्न सकिने व्यवस्था गरेको छ । यस्तै, पर्याप्त धितो वा जमानीका आधारमा संस्थागत कर्जा प्रवाह गर्न सकिने प्रावधान पनि रहेको छ ।
ऊर्जा परियोजनामा लगानी गर्दा कम्तीमा ३० प्रतिशत स्वपूँजी अनिवार्य हुने, २० मेगावाटभन्दा कम क्षमताका परियोजनामा लगानी नगर्ने तथा विद्युत् खरिद सम्झौता र प्रसारण पूर्वाधार सुनिश्चित नभएका आयोजनामा लगानी नगर्ने नीति पनि कोषले लागू गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया