सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रहरीले संगठनको कामकारबाही, सेवा प्रवाह र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा उल्लेखनीय सुधारका कार्यक्रम अघि बढाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदबहालीपछि प्रहरी कल्याण, कर्मचारी हित, प्रविधि आधुनिकीकरण, नीतिगत सुधार र समुदाय–केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।

प्रहरी कल्याण र कर्मचारी हितमा सुधार

प्रहरी कल्याण कोषमार्फत प्रहरी कर्मचारीलाई सहुलियत कर्जा तथा सेवा सुविधा विस्तार गरिएको छ । वरिष्ठ नायब निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीलाई आकस्मिक समस्याका लागि ५ प्रतिशत ब्याजदरमा २ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस अवधिमा ४ हजार ८४७ प्रहरी कर्मचारीलाई घर निर्माण, शैक्षिक, सवारीसाधन खरिद, उपचार तथा आकस्मिक कर्जा गरी करिब २ अर्ब ३८ करोडभन्दा बढीको सुविधा प्रदान गरिएको प्रहरीले जनाएको छ।

प्रविधि र डिजिटल प्रणालीको विकास

नेपाल प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स AI मा आधारित एनालाइसिस सेल सञ्चालनमा ल्याइएको छ । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन अभियुक्त तथा कसुरदारको अभिलेखीकरण र ट्र्याकिङ प्रणाली लागू गरिएको छ ।

साथै, प्रहरी मोबाइल एपमार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हालसम्म ६ लाख ७४ हजारभन्दा बढी नागरिकलाई चारित्रिक प्रमाणपत्र वितरण गरिएको पनि प्रहरीले जनाएको छ ।

सुरक्षा निगरानी र पूर्वाधार विस्तार

देशभर विभिन्न स्थानमा १ हजार ४२ सिसी क्यामेरा जडान गरिएको छ । साथै, विभिन्न जिल्लामा प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति गरी पूर्वाधार विस्तारको काम अघि बढाइएको छ ।

पर्सा, नवलपरासी (पूर्व), कोहलपुर, बरहथवा, बुटवल, गढवा, सिम्रौनगढ र चन्द्रौटा लगायतका स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नीतिगत तथा संगठनात्मक सुधार

सरुवा कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा र पदस्थापनपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास सुरु गरिएको छ । साथै, बाह्य प्रभाव पार्ने वा प्रभावमा पर्ने प्रहरी कर्मचारीको गतिविधि तीन पुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने व्यवस्था लागू गरिएको छ ।

नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण प्रक्रिया अघि बढाइएको छ । साथै कार्यसम्पादन मूल्याङ्कन प्रणाली, रणनीतिक योजना तथा भीड नियन्त्रणसम्बन्धी मापदण्डहरू पनि स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ ।

तालिम, समुदाय साझेदारी र सेवा विस्तार

नेपाल प्रहरीले स्वदेश तथा विदेशमा गरी ११ हजार ५०० भन्दा बढी जनशक्तिलाई तालिम प्रदान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६ हजार ५१७ कार्यक्रम सञ्चालन गरी ११ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

बालबालिकामैत्री वातावरण निर्माणका लागि १० वटा प्रहरी कार्यालयमा बालमैत्री कक्ष स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?