जेनजी आन्दोलन : ओली, लेखक र पृथ्वीसुब्बा गुरुङमाथि कारबाहीको सिफारिस

लोकपथ
0
Shares

काठमाडौं । भदौ तेस्रो साता नेपालमा भएको जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित २ मन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

बुधबार सार्वजनिक भएको मानवअधिकार आयोगको प्रतिवेदनले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कारबाही गर्न सिफारिस गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा तीनै जनाले मानवअधिकार उल्लंघन गरेको भन्दै कारबाहीको सिफारिस गरिएको उल्लेख छ ।

‘मानव अधिकार उल्लंघनकर्ताहरू तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ समेतले मानव अधिकार उल्लंघन गरेको पुष्टि भएको हुँदा उनीहरूलाई नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम गर्न,’ आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै प्रतिवेदनमा त्यसबेला सरकारलाई सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न प्रधानमन्त्री ओलीलाई केही मन्त्रीहरुले आग्रह गरेको तर ओलीले अटेर गरेको समेत खुलेको छ । मन्त्रीहरुले ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न भनेको तर ओलीले आनाकानी गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा देशभर भएको घटनाको मुख्य कारकका रुपमा ओली रहेको उल्लेख गरिएको छ ।

‘सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण भदौ २३ गतेको प्रदर्शन सुरू भएको र त्यसपछि देशैभरि जुन परिस्थितिको सृजना भयो त्यसको मुख्य कारकको रूपमा तत्कालीन प्रधानमन्त्री केपी ओली रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

ओलीले सेना परिचालनका लागि कुनै निर्णय नगरेको र कानुन बमोजिम पूरा गर्नुपर्ने दायित्व पूरा नगरी उदासिन बनेको हुँदा मानवअधिकार उल्लंघन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?