सरकारबाटै संसदीय लोकतन्त्रमाथि आक्रमण भइरहेको छ : देवराज चालिसे

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार जनअपेक्षाअनुसार परिवर्तन ल्याउने आफ्नो मूल दायित्वबाट विचलित भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार बोल्दै प्रवक्ता चालिसेले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको टिप्पणी गरे । उनले संसदीय प्रणालीभित्र रहेर पनि सरकारले त्यसको मर्मविपरीत गतिविधि गरिरहेको आरोप लगाए ।

नेपालको भू-राजनीतिक अवस्था र जनसाङ्ख्यिक संरचनालाई ध्यानमा राखेर संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारकै गतिविधिबाट उक्त प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरे ।

उनले अध्यादेश जारी गर्ने शैली, अदालतसँग सम्बन्धित विषय, नागरिक अधिकार, प्रेस स्वतन्त्रता तथा सङ्घीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौतीका रूपमा व्याख्या गरे ।

प्रवक्ता चालिसेले सञ्चारकर्मीलाई सत्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै पत्रकारिताको भूमिकालाई लोकतन्त्र र स्वतन्त्रताको रक्षासँग जोडेर व्याख्या गरे । सन् १९५३ मा अमेरिकामा रोजा पार्क्सले रङ्गभेदविरुद्ध गरेको प्रतिरोधको उदाहरण दिँदै उनले सानो आवाजले पनि ठूलो परिवर्तन ल्याउन सक्ने बताए ।

उनले भने, ‘अहिलेको सरकार अवस्था परिवर्तनका लागि म्यान्डेट पाएर आएको हो, तर आफ्नो कर्तव्य भुलेर प्रणालीमाथि नै प्रहार गरिरहेको छ । झुटले लेखिएको इतिहास मेटिन सक्छ, तर सत्यको आवाज सधैँ अमर रहन्छ । कुनै तानाशाह वा शक्तिले स्वतन्त्रतालाई पराजित गर्न सक्दैन ।

कांग्रेसको आन्तरिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै चालिसेले निर्वाचनमा भएको हारलाई अस्थायी ‘सेटब्याक’ मात्र भएको बताए । उनले सिद्धान्तको लडाइँमा कांग्रेस कहिल्यै पराजित नहुने दाबी गर्दै आगामी पाँच वर्षभित्र जनताले चाहेजस्तो सशक्त कांग्रेसका रूपमा पुनरागमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?