काठमाडौं । इलामका चिया तथा दुग्धजन्य उद्योगहरूमा उचित बजारीकरण र भुक्तानी अभावका कारण किसानहरू मर्कामा परेको गुनासो गरिएको छ ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण गराउँदै इलामका किसान र उद्यमीले उत्पादनअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् ।
उनका अनुसार इलाममा १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग तथा सयौँ दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा छन् । तर उत्पादनको उचित बजार व्यवस्थापन र प्रवद्र्धन नहुँदा किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
दुग्ध क्षेत्रको समस्याबारे बोल्दै उनले दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको भुक्तानी रोकिएको आरोप लगाए । डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखि भुक्तानी नपाएको र करिब ५० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको उनले बताए ।
लामो समयसम्म भुक्तानी नपाउँदा किसानको दैनिक जीवन, बैंक किस्ता तिर्ने क्षमता तथा पशु आहार खरिद गर्ने अवस्थासमेत प्रभावित भएको राईको भनाइ छ । उनले तत्काल रोकिएको रकम भुक्तानी र प्रभावकारी बजारीकरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया