काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले बुधबार एक सूचना जारी गर्दै निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गरिएको जानकारी दिएको हो ।
बोर्डको जेठ ११ गते बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको भन्दै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । आकस्मिक सेवा भने यथावत् रहने बोर्डले जनाएको छ ।
बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक संस्थालाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।
सरकारले भुक्तानी गर्न नसकेपछि निजी अस्पतालहरूले बीमा कार्यक्रममार्फत सेवा उपलब्ध गराउन नसक्ने बताउँदै आएका थिए । कतिपय सरकारी अस्पतालहरूले नै बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरिसकेका छन् ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया