पक्राउ पुर्जी प्रकरण : वीरगञ्जका नगर प्रमुख सिंह अदालत गए, सुनुवाइ नहुने भएपछि फर्के 

लोकपथ
133
Shares

काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सञ्चार माध्यममार्फत थाहा पाएको भन्दै आज बुधबार कार्यालय समय सुरु हुनासाथ वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेका छन् । बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत उपस्थित भएका नगर प्रमुख सिंह न्यायिक प्रक्रियामा सहयोग पु¥याउन स्वेच्छाले अदालत उपस्थित भएका हुन् । तर, मुद्दाको चाप बढी रहेका कारण आज सुनुवाइ हुन नसक्ने अवस्था रहेकाले उनी अदालतबाट फर्किएका छन् ।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले नगर प्रमुख सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।  उनका अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेको थियो, तर लिखत सम्बन्धी कसुरमा पक्राउ जारी भएको हो । लिखत सम्बन्धी कसुरमा अनुसूची (२२) अनुसार पक्राउ पुर्जी जारी भएको हो । वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला अदालत पर्साले जानकारी दिएको छ । 

नगर प्रमुख सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत पर्साले सिंहविरुद्ध जेठ ८ गते नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको भएपनि हिजो मंगलबार मात्रै यो विषय सार्वजनिक भएको थियो । अदालतले यो मुद्दामा राजेशमानकी श्रीमती र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ । 

अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गरेको हो । जारी गरिएको पक्राउ पुर्जीको चलानी नम्बर २३९१२ रहेको छ । गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्धको कानुनी कारबाही र अनुसन्धान प्रक्रियाले तीव्र रूप लिएको हो ।

आरोप के हो ?

जिल्ला सरकारी वकिल कार्यालय पर्साले दायर गरेको अभियोगपत्रअनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाई २०७१ साल माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए ।

सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता र त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको अनुसन्धानबाट खुलेको थियो । यस प्रकरणमा नगर प्रमुख सिंहसहित रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायविरुद्ध लिखत सम्बन्धी कसुर, नागरिकता किर्ते र राहदानी किर्ते लगायतका अभियोगमा मुद्दा दायर गरिएको थियो ।

सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको भनेर जाहेरी परेको थियो । सोही कसुरमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

नगरप्रमुख सिंहको सार्वजनिक रूपमा चिनिएको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एक छोरा अनिशमान सिंह मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?