काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।
कामपा-६ मा सञ्चालित उक्त सहकारी संस्थाले आज एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई रकम फिर्ता गरेको महानगरको सहकारी विभागले जनाएको छ ।
सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकमसमेत फिर्ता गर्ने योजना बनाएको जनाएको छ ।
महानगरको सहकारी विभागले बचत फिर्ता तथा ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको विभाग प्रमुख ध्रुवकुमार काफ्ले ले जानकारी दिए ।
उनका अनुसार बचत फिर्ताका लागि सम्बन्धित पक्षबीच छलफल तथा मिलापत्र गराउने प्रयास गरिन्छ । संस्थाको सञ्चालक समितिको निर्णय र अनुरोधका आधारमा ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र तथा सार्वजनिक सूचनामार्फत ऋण चुक्ता गर्न आग्रह गरिने गरिएको छ ।
वडास्तरमा समस्या समाधान नभए विभागले थप सहजीकरण गर्ने र सञ्चालक सम्पर्कमा आउन अटेर गरे कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ ।
त्यस्तै, ऋणीले ऋण भुक्तानी नगरे सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस पठाइने र यस प्रक्रियामार्फत एकमुष्ट वा किस्ताबन्दीमा बचत तथा ऋण फिर्ता गराउने काम भइरहेको विभागको भनाइ छ ।
संस्था बन्द गरी सम्पर्कविहीन हुने सञ्चालक तथा ऋणीलाई समेत एसएमएस र पत्रमार्फत सूचना पठाउने तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया