हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ : कृष्णहरि बुढाथोकी

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरे ।

शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यवहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो । उनले सार्वजनिक विद्यालयहरूको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सृजना गरेको छ । सार्थ २ दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । गाउँमा विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

सांसद बुढाथोकीले सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?