दृष्टिविहीन सन्तोष : भोटेकोशीदेखि कुश्मासम्म गरे बन्जी जम्प

लोकपथ
0
Shares

काठमाडौं । मान्छेका रहर पनि अनेक हुन्छन्, जसले आफैँलाई चुनौती दिएर विश्वमा चर्चित बनेका उदाहरण छन् ।

शारीरिक रुपमा कमजोर हुँदैमा कोही कमजोर हुँदैन, जहाँ इच्छाशक्ति प्रबल हुन्छ त्यहाँ कमजोरीले हार मान्छ ।
त्यस्तै उदाहरण बनेका छन्, काठमाडौंको तारकेश्वर नगरपालिका–५ सन्तोष सापकोटा । जो शारीरिक रुपमा दृष्ट्रवीहिन हुन् । तर त्यसलाई चुनौती दिँदै सापकोटाले दुई दुई पटक साहसिक खेल मानिने बन्जी जम्प गरिसकेका छन् ।

हाल ललितपुर सानेपामा स्थायी रुपमा बस्दै आइरहेका ३९ वर्षीय सन्तोषले तीन हप्ता अघि पर्वत जिल्लाको कुश्मामा रहेको नेपालकै ठूलो बन्जी जम्पका लागि पुगे । तर त्यहाँको व्यवस्थापनले उनको अवस्थालाई भर मानेन । तर उनी पुनः त्यहाँ पुगेर आफ्नो आत्मविश्वास देखाएपछि भने व्यवस्थापन तयार भयो र उनले चमत्कार गरे ।

‘सुरुमा मलाई त्यहाँ विश्वास गरिएन, एक हप्तापछि पुनः त्यहाँ गएँ, त्यसपछि बल्ल उहाँहरुले मलाई बन्जी गराउनका लागि तयार हुनुभयो,’ उनले भने ।

२२८ मिटर उचाइमा रहेको नेपालकै अग्लो स्थान र विश्वको दोस्रो ठूलो स्थानमा रहेको बन्जी जम्पबाट हालसम्म सापकोटा नै पहिलो दृष्टिवीहिन हुन्, जसले बन्जी जम्प गर्न सफल भए । त्यसो त यो नै उनको पहिलो अनुभव भने होइन । ०६४ सालमा नेपालको पहिलो सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अवस्थित बन्जी जम्पमा उनले कीर्तिमान कायम राखिसकेका छन् । त्यसबेला उनीसहित ४ जना दृष्ट्रिवीहिनहरुले कीर्तिमान कायम राखेका थिए ।

‘हामी दृष्ट्रिवीहिनहरु पनि कोही भन्दा कम छैनौँ र नेपालमा भएको ठूलो बन्जी जम्प पनि गरौँ भन्ने मेरो सपना थियो,’ उनले त्यसबेलाको समयलाई स्मरण गर्दै भन्छन्, ‘प्रकाश प्रधान जसले, दृष्ट्रिवीहिनहरुले पनि शाहसिक काम गर्न सक्छ भनेर इन्स्पायर गर्नुभयो । त्यही आधारमा मै लगायत अन्य ४ जनाले बन्जी जम्प गरेका थियौँ ।’
त्यसबेला सन्तोष भर्खरै प्लस टू को परीक्षा दिएर बसेका थिए । उनले शाहसिक खेल बन्जी जम्प खुलेको थाहा पाएका थिए, सानैबाट शाहसी बन्नुपर्छ भन्ने आत्मविश्वास बनाएका सन्तोषले त्यसबेला आफू मात्र नभएर अरुलाई समेत मोटिभेसन गरे ।

‘म बच्चैदेखि रुख चढ्ने, साइकल चलाउने, पहाड चढ्ने लगायतको कामहरु गर्थेँ । मलाई त्यही बेला पनि हामी देख्ने काम पो गर्न सक्दैनौँ अरु काम त गर्न सकिहाल्छौँ भन्ने लागेको थियो,’ उनले भने ।

उनलाई त्यो बेला भोटेकोशी र अहिले कुश्मा बन्जी जम्पमा बिल्कुल फरक अनुभव भयो । भोटेकोशीमा बन्जी जम्प गर्दा आफूलाई कुनै खोचमा छु जस्तो महसुस भएको तर कुश्माको हकमा भने आफूलाई कुनै ठूलो फाँटको माथि रहेको छु भन्ने महसुस भएको बताउँछन् ।

‘भोटेकोशी जाँदा भन्दा फरक अनुभव भयो । लास्ट रिसोर्ट (भोटेकोशी) मा जाँदा पुलमा चढ्ने बित्तिकै दुई वटा पहाडको बिचमा खोला छ । जब पूलबाट हामफालियो तब मलाई त्यो बिचमा कुनै खोचमा पुगेको जस्तो महसुस भयो । जहाँ तल खोलाको तलबाट साउण्ड पनि आइरहेको थियो, भने इको साउन्ड पनि आइरहेको थियो । तर पर्वतको चाँही अलि फरक अनुभव रह्यो । जहाँ तल झर्र्दैं गर्दा कुनै खेतहरुको फाँटतिर छु कि जस्तो लाग्यो । खोलाको साउन्ड पनि त्यति धेरै आएन । टू डिफेन्ट्र प्लेसेस, टू डिफेन्ट एक्स्पेरियन्स भयो,’ उनले भने ।

आज भन्दा झण्डै दुई दशकअघि बन्जी गर्दा जब डोरीबाट तल पुगे तब उनी हिँडेर पुनः पुलमा पुगेका थिए । तर अहिले भने डोरीबाटै माथी आउँन पर्दा आफूलाई थप सहज भएको उनको अनुभव छ ।

‘भोटेकोशीमा चाँही बन्जी गरिसकेपछि ३५ मिनेट हाराहारी हिँडेर आउनुपर्ने रहेछ । त्यसले केही कठिनाइ थपिएको थियो । तर कुश्मामा भने त्यस्तो रहेनछ, किनकी त्यहाँ डोरीबाटै आउन मिल्ने भएको हुनाले मलाई थप सहज भयो,’ उनले लोकपथसँग भने ।

सुरुमा आफूलाई पत्यार नगरेका दी क्लिफ प्रालीका व्यवस्थापनका कर्मचारीहरुले जब उनले उत्साहित रुपमा बन्जी जम्प गरे, तब आफ्नो प्रशंसा गरेको बताए । अन्य धेरै व्यक्तिहरु बन्जीका लागि त्यहाँ पुगेको र आफूले बन्जी गरेको हेरिरहँदा समेत आफू दृष्टिवीहिन भएको भन्ने थाहा नपाएको तर जब थाहा पाए तब उनीहरुले प्रसंशा गरेको उनको अनुभव छ ।

‘मैले कुश्मामा बन्जी गरेर माथि आउँदै गर्दा धेरैले क्ल्यापिङ गर्नुभयो, म आँखा नदेख्ने मान्छे हो भन्ने पनि धेरैलाई थाहै भएन । जब उहाँहरुले थाहा पाउनुभयो, मेरो प्रशंसा गर्नुभयो, मसँग फोटो खिचेर मलाई थप प्रेरित गर्नुभयो,’ उनले भने ।

सन्तोष आँखा देख्दैनन् । जन्मजातै प्रकृतिले उनलाई दृष्टिवीहिन बनाए पनि उनीसँग भावना छ, महसुस गर्न सक्छन्, विभिन्न अनुमान गर्न सक्छन् । उनको मनको गहिराईबाट आएको भावका आधारमा उनको दैनिकी चलेको छ, उनले आफूलाई शाहसिक काम गर्न सफल भएका छन् ।

पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने उक्त पूल र त्यहाँ वरिपरिको दृश्यबारे उनको आफ्नै बुझाइ छ । उनलाई त्यहाँ पूल फराकिलो र लामो भूभागमा रहेको भन्ने महसुस भयो । त्यति मात्र होइन तलको भूभागमा बगर भन्दा पनि खेतीपाती गर्न मिल्ने जमिन छ भन्ने अनुमान उनको छ ।

‘दुई वटा पहाडको कनेक्सनमा ब्रिज (पूल) बन्यो । दुई वटा पहाडको बिचमा रहेको तलको भागचाँही खेत हो कि जस्तो लाग्यो । मलाई बगर हो कि भन्ने फिल नै भएन । मलाई त्यहाँ खेतीपाती गर्न मिल्ने जमिन छ जस्तो लाग्यो । म खोलैमाथि छु जस्तो लागेन,’ उनले भने ।

त्यस्तै खेलकुदमा समेत रुची राख्ने सन्तोषले इन्टरनेशनल ब्लाइण्ड क्रिकेट प्लेयरका रुपमा १० वर्ष योगदान गरिसकेका छन् । २ वटा विश्वकप र ३ वटा एशियाकप खेलिसकेका सन्तोष टेबल टेनिसदेखि फूटबलका समेत राम्रा खेलाडी हुन् ।

आफैँ दृष्टिवीहिन भए पनि उनको आफ्नै व्यवसाय समेत गरिरहेका छन् । यूकेबाट सर्टिफाइड थेपापिस्ट रहेका उनको बौद्ध स्तुपा नजिकै हिलिङ ह्याण्ड नेपाल स्पा एण्ड थेरापी सेन्टर छ । सोना स्टीम, हाडजोर्नी तथा नशासम्बन्धी रोगको थेरापी गराइरहेका उनले ५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिइरहेका छन् ।

उनी अझै पनि आफूहरु आँखा देख्न नसक्ने भए पनि अन्य काम गर्न सक्षम रहेको विश्वास गर्छन् । हरेक दृष्टिवीहिनहरुलाई आफूहरु हरेक कुरामा सक्षम रहेको सोच राख्न आग्रह गर्छन् ।

‘दृष्ट्रिवीहिनहरुले आफू ब्लाइण्ड हो भन्दैमा केही पनि गर्न सक्दिन भन्ने सोचेर पछि नपर्न म सल्लाह दिन चाहन्छु । वी क्यान डू एभ्रिथिङ बट, वी निड टू ह्याभ सेल्फ कन्फिडेन्ट,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?