काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र सम्बन्धलाई परम्परागत राजनीतिक दायराबाट माथि उठाउँदै आर्थिक कुटनीतिलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव राईले राष्ट्रिय हित र समृद्धिका लागि आर्थिक र सार्वजनिक कुटनीतिको भुमिका महत्वपूर्ण हुने बताएका हुन् ।
सचिव राईले वैदेशिक लगानी आकर्षण, व्यापार प्रवद्र्धन, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण र उद्यमशीलतालाई कूटनीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए ।
नेपालको विशिष्ट ‘सफ्ट पावर’ का बारेमा चर्चा गर्दै सचिव राईले नेपालको सभ्यता, सांस्कृतिक विविधता, आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य र नेपाली जनताको सहनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।
यी सम्पदाहरूको सही परिचालनले विश्व मानचित्रमा नेपालको प्रतिष्ठा र गरिमा अभिवृद्धि हुने उनको विश्वास छ । परराष्ट्र मन्त्रालयको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सचिव राईले मन्त्रालयका सबै तहका कर्मचारीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । उनले उच्च तहका अधिकारीहरूले मार्गनिर्देशन गर्ने र युवा अधिकारीहरूले नवीन ऊर्जा र सृजनशीलता प्रदान गर्ने भन्दै सबैमा पेशागत मर्यादा, इमानदारिता र जवाफदेहिता हुनुपर्नेमा जोड दिए ।
उनले भने, आजको युगमा कुटनीति केवल राजनीतिक भेटघाटमा मात्र सिमित छैन । विभिन्न राष्ट्रहरूबीच लगानी र प्रविधिका लागि प्रतिस्पर्धा भइरहेको समयमा नेपालले पनि आफ्ना कूटनीतिक प्रयासहरूलाई राष्ट्रिय विकास र आर्थिक अवसर सिर्जनामा केन्द्रित गर्नुपर्छ । हामी जुनसुकै तह वा जिम्मेवारीमा रहे पनि हाम्रो अन्तिम लक्ष्य राष्ट्रिय सेवा र राष्ट्रहितको संरक्षण नै हुनुपर्छ ।’
सचिव राईले परराष्ट्र मन्त्रालयलाई एक आधुनिक, सक्षम र मानवीय भावनाले ओतप्रोत संस्थाका रूपमा विकास गर्ने संकल्प समेत व्यक्त गरे । परराष्ट्र मन्त्रीको नेतृत्वमा मन्त्रालयले संस्थागत सुदृढीकरण र रणनीतिक योजनाका साथ कार्य गरिरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया