बीपी राजमार्गका चार सय बेँसी खण्ड : १० दिनभित्र नयाँ ट्रयाकबाट सवारी सञ्चालन गरिने

लोकपथ
0
Shares

काठमाडौं । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् ।

हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भएपनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन ।

सभापति गजुरेलकाअनुसार उक्त ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ । अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न गर्ने जानकारी दिए ।

आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ ।

बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ ।

१० किलोमिटरको खण्डमा करिब १०० जना कामदारहरू नियमित खटिएका छन् । बहुसंख्यक सर्वसाधारण र सरोकारवालाहरूले तीन सिफ्टमा काम गराउन सुझाव दिएपनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल १० घण्टाको कार्यतालिका अपनाइएको उनले स्पष्ट पारे ।

परियोजना अन्तर्गत भकुण्डेबेसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ ।

सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । असार १५ गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?