पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने

लोकपथ
0
Shares

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन् ।

महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जंगलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उनले बताए ।

प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान सुरु गरेको जानकारी दिए । उनकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ ।

सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । वि.सं. २०६७/६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिब १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।

उनले भने, ‘विगतमा पोखरी, चौर र पाटनका नामले चिनिने पोखराका धेरै ऐतिहासिक स्थलहरू अहिले अस्तित्व संकटमा छन् । त्यस्ता ठाउँहरू के-कस्तो अवस्थामा छन् भन्ने खोजी गरी तिनको मौलिकता जोगाउने अभियानमा हामी लागेका छौँ ।’

भवन हस्तान्तरणका क्रममा उठेका श्रमिकका सवालहरूलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दाहरू व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले विगतमा विभिन्न संघ-संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि वर्तमान अवस्थामा ती संरचनाहरूलाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पारे ।

महानगरले सार्वजनिक सम्पतीको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?