सरकारले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्नुपर्दछ : डा. तोसिमा कार्की

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त माग गरेकी हुन् ।

सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाई थियो ।

उनले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रुपमा असफल भएको हुने तथ्य पनि उल्लेख गरिन् ।

सांसद कार्कीले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ । तर आफना नागरिकलाई सडकबाट मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ । अघिल्ला सरकारले के गरे, कसो गरे ? कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन् । अब पनि फाईल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन । त्यसैले अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई । तपाईँहरुले कोभिडको खोप त लगाउनु भयो । तर दिनहुँ सडकमा भईरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ । हामी दिन्छौँ । हामीले यो भन्न सक्नु पर्दछ । त्यसैले म अनुरोध गर्दछु । आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरु र थुप्रै ज्यानहरुलाई हामी मर्नबाट जोगाउन सक्छौँ ।’

सांसद कार्कीले वर्तमान सरकारसँग नागरिकको आशा र भरोसाबाट पन्छिने छुट नभएको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?