काठमाडौं । नेपाली सेनाले विगतका अनुभव र सिकाइलाई आधार मानेर यस वर्षको मनसुनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्ने उद्देश्यसहित सेनाले संघीयदेखि स्थानीय तहसम्म समन्वयात्मक तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।
सेनाका अनुसार जिल्ला स्तरका गण तथा गुल्महरूमा तत्काल परिचालन हुन सक्ने गरी फौजलाई तयारी अवस्थामा राखिएको छ । साथै प्रदेशस्तरीय पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ ।
विपद् प्रभावित क्षेत्रमा दुर्गम स्थानसम्म राहत तथा उद्धार सामग्री पुर्याउन हेलिकप्टरलगायत हवाई साधनहरू पनि तयारी अवस्थामा राखिएको छ । काठमाडौं बाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ राखिएको सेनाले जनाएको छ । मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी थप हवाई साधनहरू काठमाडौंमा तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ ।
बाढी र पहिरोका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरू छिटो सञ्चालन गर्न विभिन्न स्थानमा बेलिब्रिजहरू पनि तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज राखिएको छ । यस्तै गौचर ब्यारेकमा तीन वटा द्रुत यान्त्रिक पुलहरू पनि राखिएका छन्, जसलाई आवश्यक स्थानमा तुरुन्त पुर्याएर सञ्चालन गर्न सकिने जनाइएको छ ।
विशेष उद्धारका लागि शीघ्र प्रतिकार्य टोलीलाई काठमाडौंको गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ, जसलाई आवश्यकता अनुसार हवाई मार्गबाट प्रभावित क्षेत्रमा पठाइनेछ ।
स्वास्थ्य सेवाका लागि देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ । औषधि, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको तथा प्रत्येक पृतनामा राहत सामग्री भण्डारण गरिएको सेनाले जनाएको छ ।
त्यस्तै, सडक खुलाउने, पहिरो पन्छाउने र क्षतिग्रस्त संरचना मर्मतका लागि भारी उपकरण र दक्ष अपरेटरसहितको टोली पनि तयारी अवस्थामा राखिएको छ ।
नेपाली सेनाले विपद् व्यवस्थापनलाई एकल प्रयासले मात्र सम्भव नहुने भन्दै संघीय, प्रदेश र स्थानीय सरकारका निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँगको समन्वयलाई विशेष प्राथमिकता दिएको छ ।
यसैक्रममा गत वैशाख २१ देखि २३ गतेसम्म जंगी अड्डामा ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो, जसमा सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्य राखिएको थियो । यस्ता अभ्यासहरू क्रमशः प्रदेश र जिल्ला तहसम्म विस्तार गरिने योजना छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार मनसुनजन्य विपद्का चुनौतीलाई ध्यानमा राख्दै पूर्वतयारी योजनाअनुसार सबै निकायसँग समन्वय गरी जनधनको क्षति न्यून गर्ने लक्ष्यसहित नेपाली सेना प्रतिबद्ध छ ।
वर्षेनि दोहोरिने बाढी, पहिरो र डुबानजस्ता विपद्का जोखिम बढ्दै गइरहेका बेला सेनाको यो तयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया