संक्रमणकालीन न्याय सम्बन्धी आयोग तत्काल सक्रिय पारियोस् : भीष्मराज आङ्देम्बे

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरूलाई तत्काल सक्रिय र प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय प्रक्रियाको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै विस्तृत शान्ति सम्झौता र सर्वोच्च अदालतका आदेशअनुसार काम अघि बढाउन ढिलाइ भएको टिप्पणी गरेका हुन् ।

आङ्देम्बेले भने, ‘संक्रमणकालीन न्याय प्रक्रियाको वस्तुस्थिति बुझ्न संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक बर्नार्ड डुवाइमले आगामी जुनमा नेपाल भ्रमण गर्दै छन् भन्ने सुनिन्छ। विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला र अन्तर्राष्ट्रिय मापदण्डअनुसार २०२४ मा टीआरसी ऐनको तेस्रो संशोधन गरिए तापनि अझै धेरै कानुनी कमजोरीहरू बाँकी छन् ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू राजनीतिक भागबन्डाका आधारमा पुनर्गठन गरिएको भन्दै आपत्ति जनाए । उनका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक सम्बन्धी आयोगमा रिक्तता सिर्जना गरेर काम प्रभावित बनाइएको छ ।

उनले भने, ‘सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर ढाकुम बनाएको छ। यसमा केही संवेदनशील संस्था पनि छन् । जस्तै सत्य तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक सम्बन्धी संक्रमणकालीन न्यायका आयोगका पुराना पदाधिकारीलाई पनि बर्खास्त गरिएको अवस्था हो । ती आयोगहरूलाई छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी छ ।’

आङ्देम्बेले सरकारलाई संक्रमणकालीन न्याय प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने गरी आयोगहरूलाई पूर्ण रूपमा सक्रिय बनाउन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?