सशस्त्रकी सहायक हवलदार अनिता कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

लोकपथ
84
Shares

काठमाडौं । सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनी सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही पनि बनेकी छिन् । 

उनले आज जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् । 

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवलदार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । साथै उनले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् । 

राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरोमा जन्मिएकी आरोही अनिता कार्कीले खेलकुद, अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उँचो बनाएकी छन् । उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा सांगे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । 

उनको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?