काठमाडौं । काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्येनारायण मन्दिरमा एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला प्रारम्भ भएको छ ।
‘मलमास मेला’का रूपमा समेत परिचित यस अवधिमा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ ।
धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । सोही विश्वासका साथ मेला अवधिभर मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यहाँ माछाको मुखबाट प्रकट भएको, चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान मत्स्येनारायणको करिव एक फिट अग्लो मूर्ति मुख्य आकर्षणको रूपमा रहेको छ । विभिन्न पुराणहरूका अनुसार भगवान विष्णुले धारण गरेका दश अवतारमध्ये मत्स्य अवतारलाई पहिलो अवतार मानिन्छ ।
प्रलयकालमा भगवानले मत्स्य रूप धारण गरी समुद्रमा डुङ्गाको कार्य गर्दै वेदको रक्षा गरेको धार्मिक महिमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया