काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रस्ताव गरेकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालले शान्ति र सगरमाथाको शीतलतालाई आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
नेपालको अर्थतन्त्र वर्षौंदेखि रेमिट्यान्समा निर्भर रहेको उल्लेख गर्दै सांसद अधिकारीले अब वर्किङ नेपाल मात्रै नभई वर्क फ्रम नेपालको अवधारणालाई अघि सार्नुपर्ने धारणा राखिन् ।
उनले प्रविधिको विकाससँगै विश्वका दक्ष जनशक्ति र प्रविधि विज्ञलाई नेपालमा बसेर काम गर्न आकर्षित गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताइन् ।
उनले डिजिटल नोम्याड भिसाको व्यवस्था गरी विश्वभरका प्रखर मस्तिष्कलाई नेपालको कला, संस्कृति, चाडपर्व तथा हिमाल, पहाड र तराईको विविधतासँग रमाउँदै काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिइन् ।
सांसद अधिकारीले भनिन्, ‘यो धर्तीको शान्ति र सगरमाथाको शीतलतालाई अर्थतन्त्रको बलियो आधार बनाउने कि ? वर्षौंवर्ष रेमिट्यान्सकै भरमा यसरी बाँचिरहने ? अब हामीले वर्किङ नेपाल मात्रै होइन, विश्वलाई नै ‘वर्क फ्रम नेपाल’ का लागि निम्तो दिनुपर्छ ।’
उनले नेपालको भौगोलिक विविधता र समृद्ध सांस्कृतिक पहिचान विश्वका जोकोहीलाई आकर्षित गर्न सक्ने उल्लेख गर्दै प्रविधि क्षेत्रमा काम गर्ने विदेशी नागरिकलाई नेपालमै बसेर काम गर्न सक्ने गरी आवश्यक भिसा र पूर्वाधारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया