आदिवासी जनजातीका मुद्दा उठाउन नेकपालाई महासंघको आग्रह

लोकपथ
238
Shares

काठमाडौं । नेपाल आदिवासी महासंघले आदिवासी जनजातीहरुको अधिकार र राज्यका निकायमा समान सहभागिता सुनिश्चित गर्न सहयोग गरिदिन नेपाली कम्युनिष्ट पार्टी(नेकपा)लाई आग्रह गरेको छ ।

मंगलबार नेकपा मुख्यलाय पेरिसडाँडामा महासंघले नेकपालाई आदिवासी जनजातीहरुको माग सम्बोधन गर्न सहयोग गरिदिन ज्ञापनपत्र बुझाएको हो ।

महासंघका महासचिव विमल सारु मगरले मुलुकमा पटक–पटक भएका राजनीतिक परिवर्तन, संविधान निर्माण, संघीयताको अभ्यास तथा निर्वाचन सम्पन्न भएपनि आदिवासी जनजातिका मूल मुद्दा र अधिकार अझै प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको बताए ।

संविधानले प्रत्याभूत गरेको समान सहभागिता र समावेशी राज्य निर्माणको लक्ष्य व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीले खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरूको विशेष नैतिक, ऐतिहासिक र राजनीतिक जिम्मेवारी रहेको बताए ।

महासंघले आदिवासी जनजातिको हक–अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा तथा संस्कृतिको संरक्षण र निर्णय प्रक्रियामा प्रभावकारी सहभागितालाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रममा प्राथमिकतासाथ समावेश गर्न आग्रह गरेको छ ।

समावेशी, न्यायपूर्ण र अवसरयुक्त नेपाल निर्माणका लागि राजनितिक दलहरूले ठोस पहल र स्पष्ट प्रतिबद्धता देखाउन आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘मुलुकमा भएका राजनितिक परिवर्तन, संविधान निर्माण, संघियताको अभ्यास तथा पटपटक निर्वाचनको बाजजुत पनि आदीवासी जनजातीका मुल मुद्दा र अधिकार प्रर्याप्त सम्बोधन हुन नसक्नु अत्यन्त चिन्ताजनक विषय हो । संविधानले प्रत्याभुत गरेको समान सहभागीता र समावेशी राज्य निर्माणको लक्ष्य पूर्णरुपमा हासिल हुन सकेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलन र समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीको एतिहासिक भुमिका र योगदानलाई दृष्टिगत गर्दे आदिपासी जनजातीका अधिकार सुनिश्चित गर्न तपाईहरुको विशेष नैतिक, ऐतिहासिक र राजनितिक जिम्मेवारी रहेको हाम्रो ठहर छ, आदीवासी जनजातीका हक अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा, संस्कृति संरक्षण तथा निर्णय प्रकियामा प्रभावकारी सहभागीता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रम मार्फत प्राथिमकतामा राख्न आग्रह गर्दछौँ ।’

उनले आदीवासी जनजातीहरुले नेपालको पर्यटन, सीप, कला, संस्कृति संरक्षणमा ठूलो भुमिका निर्वाह गरेको उल्लेख गरे । महासंघले सबै राजनितिक दलहरुलाई आफ्ना अधिकार सुनिश्चित गराउनको लागी ध्यानाकर्षक गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?