काठमाडौं । सरकारी साक्षीका रूपमा राखिएकी एक महिलाले अदालतमा होस्टाइल बकपत्र गरेपछि उनी विरुद्ध नै भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ की सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
गोरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना रही काठमाडौंकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर प्रतिकुल बकपत्र गरेको भन्दै अख्तियारले उनी विरुद्ध समेत भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
नेपाल बैंकका अध्यक्ष चन्द्र बहादुर अधिकारी जोडिएको घुस प्रकरणमा अख्तियारले सुरुमा सुमित्रालाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरेको थियो । नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले घुसबापत लिएको ५० लाख रुपैयाँको चेक सुमित्रा कस्मेटिक एन्ड फेन्सीको नाममा काटिएको थियो । उक्त फेन्सीकी सञ्चालिका सुमित्रा कुमारी घिमिरे पुडासैनी रहेकी थिइन् ।
पुडासैनीले अधिकारीको घुसबापत प्राप्त भएको चेक सटहीका लागि बैंकमा जाँदा चेक सटही नभई फिर्ता भएको थियो ।
डा. चन्द्र बहादुर अधिकारीले ऋण प्रवाह गर्दा २ प्रतिशत कमिसन लिने गरेको विषयमा उजुरी परी अनुसन्धान हुँदा उनले घुस लेनदेन गरेको पुष्टि भएको थियो । सोही सम्बन्धमा अनुसन्धान गर्दै जाँदा सुमित्रा कुमारी घिमिरे पुडासैनीसमेत जोडिएकी थिइन् ।
त्यस विषयमा अख्तियारमा बयान गर्दा पुडासैनीले उक्त चेक आफूलाई डा. चन्द्र बहादुर अधिकारीले सटही गरी नगद दिन भनेको भनी बयान दिएकी थिइन् । उनले उक्त रकम आफ्नो नभएको बयान दिई चन्द्र बहादुर अधिकारीले घुस रिसवत लिई भ्रष्टाचार गरेको बयान दिएपछि अख्तियारले उनलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरेको थियो ।
तर पछि गत वैशाख ९ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा भने सुमित्राले डा. चन्द्र बहादुर अधिकारी एक असल व्यक्ति भएको, उनले घुस नखाएको र उक्त चेक आफूले पाउनुपर्ने रकमको रहेको भनी प्रतिकुल अर्थात् होस्टाइल बकपत्र गरेकी थिइन् ।
सरकारी साक्षीका रूपमा राखिएका व्यक्तिले नै होस्टाइल बकपत्र गरेपछि वैशाख २९ गते मंगलबार अख्तियारले सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध समेत ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अभियोग पत्र पेस गरेको हो ।
अख्तियारले मंगलबार दायर गरेको अभियोग पत्रमा घिमिरेले प्रतिकुल बकपत्र गरेको कार्य भ्रष्टाचार गर्ने कार्यमा मद्दत गरेको कार्य कसुर अर्थात् एक्टस रोइस रहेको भन्दै उनी विरुद्ध समेत मुद्दा दायर गरेको हो । अख्तियारले सुमित्राविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा चेकमा रहेको रकम वा अंक अर्थात् ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया