सरकारलाई भीष्मराज आङ्देम्बेको प्रश्न : गृहमन्त्रीमाथिको आरोप छानबिन किन रोकियो ?

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको सुशासनको नारामाथि प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले अरूलाई भ्रष्टाचारको आरोपमा लक्षित गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरूको छानबिन नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सम्बोधनका क्रममा उनले सरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको तर्क गरे । उनले तत्कालीन गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकार किन हिचकिचाएको भनी जवाफ समेत माग गरेका हुन् ।

नेता आङ्देम्बेले सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णयको भने स्वागत गरेका छन् । तर विगतमा गठन गरिएका आयोगका प्रतिवेदनहरू कार्यान्वयनमा नआएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी वि।सं। २०४७ देखि २०५९ सम्मको सम्पत्ति छानबिन गर्न गठित ‘लम्साल आयोग’को प्रतिवेदन हालसम्म कार्यान्वयन नहुनुको कारणबारे उनले प्रश्न उठाएका छन् ।

उनले भने, ‘अरूलाई भ्रष्टाचारको एकोहरो आरोप लगाउने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका संगिन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? प्रतिवेदनहरू बनाउने तर पहिले जस्तै दराजमा थन्क्याउने हो भने अहिलेको प्रचारबाजीको कुनै अर्थ रहने छैन ।’

उनले पुराना प्रतिवेदनहरू कार्यान्वयन नगरेसम्म नयाँ आयोगहरूको प्रभावकारितामाथि प्रश्न उठिरहने उल्लेख गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?