‘जरा अभियान’ पार्टीमा कोर्स करेक्सन र सादृश्य परिवर्तन प्रक्रियाको प्रस्थानबिन्दु : डा. केदारनरसिंह केसी

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीले पार्टीले सञ्चालन गरेको ‘जरा अभियान’ पार्टीमा कोर्स करेक्सन र सादृश्य परिवर्तन प्रक्रियाको प्रस्थानबिन्दु भएको बताएका छन् । 

‘जरा अभियान’ बारे आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रीय सदस्य केसीले बृहत् दायरामा ‘जरा’ भन्नाले ‘जनता र राष्ट्र’ को अर्थमा बुझ्दा किमार्थ गलत नहुने पनि बताएका छन् । 

जरा अभियानबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य केसीले भनेका छन्, ‘जरा अभियान जेनजी वा नवयुवा पुस्ताहरू र विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरी सक्रियता बढाउन इच्छुकहरूको लागि अनुकूल र हौसलापूर्ण वातावरण बनाउने जिम्मेवारीको लागि पनि हो । वर्तमान कांग्रेसका युवावयी सभापति, उपसभापतिद्वय, महामन्त्रीद्वय, अन्य पदाधिकारीहरूलगायत समस्त केन्द्रीय सदस्यहरूबाट बनेको नेतृत्व संरचनाको युगसापेक्ष भावना र आवश्यकतालाई समेट्ने सामर्थ्यमा सन्देह नहोला । नेतृत्वमा सँधैभरि एउटै व्यक्ति रहिरन्छ वा रहिरहनु पर्छ भन्ने मान्यताबाट वर्तमान नेतृत्व मुक्त छ । त्यसकारण वर्तमान कांग्रेस नेतृत्वले ‘रूपान्तरण’ सँगसँगै ‘पुस्तान्तरण’ लाई पनि उत्तिकै महत्व दिएको छ । अब एकांकी, पक्षपाती र काखी च्याप्ने परम्पराको निर्ममतापूर्वक अन्त्यको वातावरण बनेको छ । पार्टीमा योग्यतावाद र योगदानमा आधारित कदर र प्राथमिकता क्रम बस्न थालेको छ । यो अभियान स्थानीय कार्यकर्ता साथीहरूको दक्षता तथा योग्यता अभिवृद्धि गर्दै व्यक्तित्व र नेतृत्व विकासमा गतिशीलता दिनु र पार्टीको नेतृत्व जिम्मेवारी क्रमशः बढाउँदै जाने प्रक्रिया हो ।’

उनले भनेका छन्, ‘त्यसैले जरा अभियान जनताको समर्थन र आफ्नै खुट्टामा उभिएको स्वाभिमानी र सशक्त कांग्रेस बनाउने, जनस्तरमा जनताको लागि जनसहभागिताका साथ संकल्पको जनअभियान हो । जरा अभियानमा जिम्मेवारीका काम र कर्तव्यहरू छन् । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा न्यायोचित, व्यावहारिक, परिणाममुखी र जनताको उच्चतम हितमा व्यवस्थापन गर्नु यो अभियानको जिम्मेवारी हो । कांग्रेसका साथीहरू जननिर्वाचित भएको स्थानीय तहमा योजना र बजेट निर्माणमा समन्वय तथा सहजीकरण गर्नु जरा अभियानकै जिम्मेवारी हो ।’

‘जरा अभियानबारे यस्तो छ उनको धारणा

नेपाली कांग्रेसको ‘जरा अभियान’ बारे मेरो धारणा गतवर्ष (२०८२) पुसको अन्त्यमा सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको भावना र म्यान्डेट र त्यसको लगत्तै एकदमै साँघुरो समयमा संसदीय निर्वाचनमा सहभागी हुनुपर्दाको परिणामले पार्टीलाई तलैदेखि आत्मसमीक्षा, मूल्याङ्कन र सुधारको लागि देशव्यापी अभियान चलाउनु पर्ने जरुरत बढायो । पार्टीमा विद्यमान विकृति, विसंगति, गलत परम्परा र कुप्रथाको निर्ममताका साथ अन्त्य गर्दै कार्यप्रणालीमा सुधार (Course correction) पनि त्यत्ति नै आवश्यक अनुभव भयो । कांग्रेसले आफ्नो शक्ति, ऐतिहासिक विरासत र जनाधारतिर हेरेर निर्णय लिने बेला आएको छ । त्यसैले कांग्रेसले जनस्तरमा नै ‘जरा अभियान’ चलाएको हो । परिवर्तित कांग्रेस नेतृत्वले आफ्ना जरा अडिने र जीवनी–रस पाउने जनताको महत्वलाई आत्मसात् गरेर जनताप्रति समर्पित कार्यमूलक सम्मान पनि हो जरा अभियान । 

तसर्थ, बृहत् दायरामा ‘जरा’ भन्नाले ‘जनता र राष्ट्र’ को अर्थमा बुझ्दा किमार्थ गलत हुँदैन । जरा अभियान पार्टीमा कोर्स करेक्सन र सादृश्य परिवर्तन प्रक्रियाको प्रस्थानबिन्दु हो । गत पुसमा सम्पन्न पार्टीको ऐतिहासिक विशेष महाधिवेशनको भावना र निर्देशनको कार्यान्वयन हो । जरा अभियान जेनजी वा नवयुवा पुस्ताहरू र विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरी सक्रियता बढाउन इच्छुकहरूको लागि अनुकूल र हौसलापूर्ण वातावरण बनाउने जिम्मेवारीको लागि पनि हो । वर्तमान कांग्रेसका युवावयी सभापति, उपसभापतिद्वय, महामन्त्रीद्वय, अन्य पदाधिकारीहरू लगायत समस्त केन्द्रीय सदस्यहरूबाट बनेको नेतृत्व संरचनाको युगसापेक्ष भावना र आवश्यकतालाई समेट्ने सामर्थ्यमा सन्देह नहोला । नेतृत्वमा सँधैभरि एउटै व्यक्ति रहिरन्छ वा रहिरहनु पर्छ भन्ने मान्यताबाट वर्तमान नेतृत्व मुक्त छ । त्यसकारण वर्तमान कांग्रेस नेतृत्वले ‘रूपान्तरण’ सँगसँगै ‘पुस्तान्तरण’ लाई पनि उत्तिकै महत्व दिएको छ । अब एकाङ्गी, पक्षपाती र काखी च्याप्ने परम्पराको निर्ममतापूर्वक अन्त्यको वातावरण बनेको छ । पार्टीमा योग्यतावाद (Meritocracy) र योगदानमा आधारित कदर र प्राथमिकता क्रम बस्न थालेको छ । यो अभियान स्थानीय कार्यकर्ता साथीहरूको दक्षता तथा योग्यता अभिवृद्धि गर्दै व्यक्तित्व र नेतृत्व विकासमा गतिशीलता दिनु र पार्टीको नेतृत्व जिम्मेवारी क्रमशः बढाउँदै जाने प्रक्रिया हो । 

राज्य व्यवस्थामा हाल पनि नेपाली कांग्रेसको बलियो उपस्थिति छ । संघीय प्रतिनिधिसभामा नेपाली कांग्रेस मुख्य विपक्षी दलको हैसियतका साथ ३८ सांसद छन् । राष्ट्रियसभामा ५९ सांसदमध्ये कांग्रेसका २४ जनासहित एकल ठूलो हैसियत छ । प्रदेशसभाहरूमा कुल ५५० सांसदमध्ये कांग्रेससँग १७६ सांसद छन् । सातमध्ये कांग्रेसका ४ मुख्यमन्त्री छन् । ७५३ नगर र गाउँपालिकामध्ये कांग्रेसका ३३३ जना मेयर र अध्यक्ष छन् । ३५,०११ वडाध्यक्षमध्ये कांग्रेसका १३,७३० जना कार्यरत छन् । यसले कांग्रेसको विशालता र व्यापकतालाई प्रमाणित गर्दछ । राष्ट्रिय परिस्थितिमा राजनीतिक अन्योल तथा अनिश्चितता यथावत् रहेको, अर्थतन्त्र स्खलित, महामन्दी र शक्तिहीन अवस्थामा पुगेको, अराजकतावादी र आपराधिक प्रवृत्ति हौसिरहेको, जनतामा निराशाको पारो, आक्रोश र विद्रोह रहिरहेकोले यसको उपचारात्मक अभियान हुनुपर्ने खाँचो रहेको, सामाजिक पद्धतिमा विश्रृङ्खलता व्याप्त रहेको, राष्ट्रनिर्माणको अपरिहार्य शक्ति– युवापुस्ता बिदेसिने अनियन्त्रित लहर चलिरहेको, अन्तर्राष्ट्रिय जगतमा नेपालको भूमिका प्रभावहीन अवस्थातिर उन्मुख भएको, संविधान र लोकतन्त्र प्रतिरक्षात्मक स्थितितिर धकेलिने खतरा मडारिरहेको अवस्थामा देशको सबभन्दा जेठो र हाल संसदमा जिम्मेवार प्रमुख प्रतिपक्षी पार्टीको यस अभियानले संरचनागत परिवर्तन, संगठनात्मक सशक्तीकरण र सैद्धान्तिक उत्कृष्टताको आधारमा जनस्तर र युवापुस्तामा पार्टीलाई जनताको भरोसायोग्य शक्तिको रूपमा स्थापित गर्ने हो । पार्टीका निष्ठावान् र अनुशासित कार्यकर्ताहरूले उपलब्ध नेता होइन, उदाहरणीय र आदर्श नेता खोजेका हुन् । 

तर महत्वपूर्ण विषय र निर्णयमा रचनात्मक विचार र स्वस्थ आलोचना गर्न सकेनौं वा चाहेनौँ भने उदाहरणीय र आदर्श नेताबारे हाम्रो चाहनामा कति पवित्रता छ भन्ने प्रश्न उठ्न जान्छ । जब नेतृत्वले सजिलो बाटो र टालटुले उपाय खोज्न थाल्छ, ऊसँग चुनौतीको सामना गर्ने दक्षता र उपाय रहेनछ, केबल तदर्थवादी ढङ्गले पार्टी चलाउन रमाउने भन्ने प्रमाणित हुनथाल्छ । जतिबेला पनि ‘विकल्प’ मात्र खोजिरहने ‘निमित्त नायक’ ले संकल्प र लक्ष्य बिर्सने खतरा हुन्छ । ‘सहमति’ का नाममा जथाभाबी आत्मसमर्पण गर्दै हिँड्नु सिद्धान्तहीन र ‘तमसुके संस्कार’ हो र यसले जनताउपर पार्टीको प्रतिबद्धता उपर अविश्वास पैदा गर्दछ । त्यसैले जरा अभियान जनताको समर्थन र आफ्नै खुट्टामा उभिएको स्वाभिमानी र सशक्त कांग्रेस बनाउने, जनस्तरमा जनताको लागि जनसहभागिताका साथ संकल्पको जनअभियान हो । 

जरा अभियानमा जिम्मेवारीका काम र कर्तव्यहरू छन् । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा न्यायोचित, व्यावहारिक, परिणाममुखी र जनताको उच्चतम हितमा व्यवस्थापन गर्नु यो अभियानको जिम्मेवारी हो । कांग्रेसका साथीहरू जननिर्वाचित भएको स्थानीय तहमा योजना र बजेट निर्माणमा समन्वय तथा सहजीकरण गर्नु जरा अभियानकै जिम्मेवारी हो । सामाजिक मुद्दाहरूमा अग्रसरता लिने, स्थानीय आवश्यकता अनुसार– जलवायु परिवर्तनका दुष्परिणाम, सामाजिक विभेद, विकृति तथा विसंगति विरुद्ध जागरण, अनौपचारिक क्षेत्रका श्रमिक, विदेशबाट फर्केका युवा संवाद, लागु पदार्थ विरुद्ध युवा अभियान, आमा संवाद र उद्यम अभियान, मौलिक सभ्यता संस्कृति र प्रकृति संरक्षण अभियान, शिक्षा सुधार तथा स्वास्थ्य सेवा जस्ता कार्यक्रम चलाएर जरा अभियानसँग जोड्ने हो । कांग्रेसका कमी–कमजोरी र गल्ती के छन्, पार्टी कहाँ चुक्यो, अब रूपान्तरण र सुधारको बाटो के हुनसक्छ भन्ने बारेमा शहिद परिवार लगायत कांग्रेसका अग्रज, शुभेच्छुक र बौद्धिक वर्गसँग व्यापक संवाद, सुझाव संकलन र मार्गदर्शन लिनु पनि यो अभियानको उद्देश्य हो । स्थानीय तहमा जनता प्रत्यक्ष लाभान्वित हुने र पार्टीका साथीहरूको भूमिकालाई हौसला, ऊर्जा र निष्ठा अभिवृद्धि गर्ने जिम्मेवारी पनि हो । भ्रष्टाचार, दण्डहीनता, विधिविहिनता, अराजकताको अन्त्य र सुशासनको सुनिश्चितता स्थापित गर्न कांग्रेससँग भएको सामर्थ्य हामीले नै चिन्नुपर्छ र जरा अभियानमा जोड्नु परेको छ । 

कांग्रेसका कतिपय महत्वपूर्ण विरासत र धरोहर, विगतका सत्तामुखी ‘गठबन्धन’ को राजनीतिमा बन्धक बन्न पुगेको कटु यथार्थलाई चिन्दै पार्टीलाई असफल र कमजोर बनाउनु छ भने बहसको सट्टा विवाद, उदारताका नाममा लापरबाही, मूल्य, मान्यता, सिद्धान्त र नीतिको मूल्यमा सत्तालिप्सामा फसाइदियो बर्वादीको लागि अरू केही चाहिँदैन भन्नेमा कांग्रेसको वर्तमान नेतृत्व सजग छ । कार्यान्वयन नहुने निर्णय र विश्वासबिनाको सहमतिको कुनै अर्थ रहँदैन, न त त्यसले लोकतान्त्रिक अभ्यासलाई समृद्ध तुल्याउँछ भन्नेमा पनि नेतृत्व सचेत छ । पार्टीभित्र न्यायपद्धति र सहमतिको राजनीतिक संस्कारलाई बिथोलियो भने हामी सबै ‘बाटो बिराएका मानिसको भीडजस्तो….’ हुन पुग्ने अवस्थाबारे नेतृत्व सावधान छ । वर्तमान कांग्रेसमा ‘संस्थापन पक्ष’ र ‘इतर पक्ष’ भन्ने वातावरण छैन, न त पक्ष र गुटबन्दीले पार्टीको हित गर्छ भन्ने भ्रममा नेतृत्व वर्ग नै छ । 

जुँगाको लडाइँले, सैद्धान्तिक वा नीतिगत वा एजेन्डामा आधारित वाद–विवाद बहसको स्थापन पाउन सक्दैन । कांग्रेसमा निःशर्त र निस्वार्थ एकता नै वर्तमान नेतृत्वको ध्येय हो । यो ध्येय प्राप्तिको लागि नेतृत्व जस्तोसुकै मिहिनेत गर्न तयार छ । आगामी पन्ध्रौँ महाधिवेशनलाई यही ध्येयको सुन्दर परिणाम बनाउने दिशामा पार्टीका सम्पूर्ण साथीहरूको एकमत रहेको छ । जरा अभियानको लक्ष सार रूपमा यही हो । 

जय नेपाल । 

डा. केदारनरसिंह के.सी. केन्द्रीय सदस्य नेपाली कांग्रेस (२७–०१–२०८३)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?