सर्लाही । सर्लाही जिल्लामा एक अज्ञात पुरुषको शव सडेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४स्३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।
स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव अत्यधिक सडेको अवस्थामा भेटिएको छ । शवको अवस्था बिग्रिएको कारण हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको कारण र प्रकृति पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया