रुपन्देही प्रहरीको ‘अप्रेशन डेल्टा’ : २ घण्टामा लागुपदार्थ सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

लोकपथ
0
Shares

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लापरबाहीपूर्ण रुपमा सवारीसाधन चलाउनेहरुमाथि निगरानी बढाएको छ ।

जिल्लास्थित सिद्दार्थ राजमार्ग लगायत भित्री सडकखण्डमा समेत चल्ने सार्वजनिक सवारी साधनहरुमा चालकहरुले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको सूचनाका आधारमा प्रहरीले ‘अप्रेशन डेल्टा’ सञ्चालन गरेको थियो ।

‘अप्रेशन डेल्टा’ बाट लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १७ जना चालकलाई शनिबार पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका–१४ का मंजिल परियार, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का इमरान अलि मुसलमान, तिलोत्तमा नगरपालिका–६ का कुलप्रसाद रेग्मी, सिद्धार्थनगर नगरपालिका–१ का सुरज राना, लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का सरिफ अहमद, तिलोत्तमा नगरपालिका–३ का होम बहादुर क्षेत्री, तिलोत्तमा नगरपालिका–१२ का दिपेश कठरिया थारु रहेका छन् ।

यसैगरी बुटवल उपमहानगरपालिका–११ का सूर्यबहादुर विक, बुटवल उपमहानगरपालिका–१३ का प्रविण सिंजाली, कैलाली चुरे गाउँपालिका–५ का मोहन रानामगर, अर्घाखाँची पाणिनी गाउँपालिका–६ का सुमन परियार, दाङ तुल्सीपुर उपमहानरपालिका–१५ का सन्जु चौधरी, धादिङ गजुरी गाउँपालिका–५ का जिपसन राई, नवलपरासी रामग्राम नगरपालिका–१६ का सन्तोषकुमार चौधरी, नवलपरासी बर्दघाट नगरपालिका–४ का ताराप्रसाद उपाध्याय र उदयपुरको चौदण्डी नगरपालिका–९ का विवेक राई रहेका छन् ।

चालकले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा मानवीय तथा भौतिक क्षति हुने क्रम बढेसँगै प्रहरीले त्यसबारे चासो देखाउँदै ‘अप्रेशन डेल्टा चलाएको थियो ।

शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागुऔषध ब्युरो शाखा भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जबाट खटिएको प्राविधिक चिकित्सक टोलीबाट चालकहरुको तत्काल पिसाव चेक गरिएको थियो ।

प्रहरीले शनिबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्मको समयमा चालकहरुको चेकजाँचज गरेको थियो । १०० जना चालकहरुको परीक्षण गर्दा १७ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको डीएसपी चन्दले बताए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाहीका लागि तत्काल पक्राउ पुर्जी जारी गरी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?