‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा आज भएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा उनले सुरक्षित एवं व्यवस्थित आप्रवासनमा जोड दिँदै आएको नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्रका भएकाले सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले श्रम गरेको मुलुकको अर्थतन्त्र तथा नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

विप्रेषण, सीप र ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका उजले बताए ।

उनले भर्ती प्रणाली, लैंगिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षाको व्यवस्था र भर्ती सेवाको ‘डिजिटल’ प्रणालीकरणलगायत क्षेत्रमा नेपालले सुधारका विभिन्न पहल अघि बढाएको जानकारी दिए ।

राजदूत थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण तथा समन्वय अभावजस्ता चुनौती विद्यमान रहेका उल्लेख गर्दै ती समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक भएकामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?