ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारी लाई सरल, सादगी र दूरदर्शी नेताका रूपमा स्मरण गरे ।

राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्धभत्ता सुरु गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै तत्काल १०० रुपैयाँबाट सुरु भएको भत्ता अहिले ४ हजार रुपैयाँ पुगेको बताए । उनले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सामाजिक संरक्षणका लागि उक्त कदम महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

ज्येष्ठ नागरिकलाई समाजको विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै उनले स्वास्थ्य उपचार, उचित खानपान र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय बढ्दो सहरीकरण, वैदेशिक रोजगारीतर्फ युवा पुस्ताको आकर्षण तथा पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिक अपहेलित हुनुपरेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रपति पौडेलले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सँगै मनमोहन अधिकारीले नेपाल र भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले मनमोहन अधिकारी उदारवादी वामपन्थी नेता भएको भन्दै प्रजातन्त्र स्थापनाका लागि कांग्रेस र कम्युनिस्टबीच सहकार्यको पक्षमा रहेको बताए ।

वरिष्ठ नागरिकको अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्ने उल्लेख गर्दै उनले उनीहरूका असल अभ्यासलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न र शारीरिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन सरकारले ठोस नीति तथा कार्ययोजना बनाउनुपर्ने धारणा राखे ।

नेपालको जनसङ्ख्या क्रमशः बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासबाट सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सम्मेलन सफलताको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?